
पोखरामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
पोखरा, ११ साउन/ पोखरामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–२७ रठ्ठेपानी निवासी जंगे सार्कीलाई प्रहरीले श्रीमती हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।
रिठ्ठेपानीको सुकुम्बासी टोलमा बस्दै आएकी श्रीमती जमुना नेपाली साउन ८ गते मृत अवस्थामा भेटिएकी थिईन् । शव सडेर दुर्गन्धित भएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
ढोका फुटाएर हेर्दा श्रीमती नेपालीको शव फेला परेको कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलीयाले जानकारी दिए । प्रहरीका अनुसार साउन ६ गते श्रीमान श्रीमतीबीच जग्गा बेचबिखनका विषयमा विवाद भएको थियो । विवादका क्रममा श्रीमान जंगेले श्रीमती जमुनालाई दुई मुक्का हान्नुका साथै भित्तामा ठोक्काईदिएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए ।
घटनापश्चात श्रीमान जंगे नजिकैको अर्को टहरामा सुत्न गएका थिए । राती झगडा गरेर अर्कै घरमा सुतेका उनी भोलिपल्ट पनि छिमेकीकोमा चिया पिएर शिसुवास्थित ठेकेदारलाई भेट्न पुगेको प्रहरीको भनाई छ ।
सो दिन साँझ फर्केर जंगेले खाना आफैले बनाएर खाएका तर श्रीमतीको बारेमा चासो नदिएको अनुसन्धानका क्रममा खुलेको उनले बताए । उनले ३५ वर्ष अगाडी पहिलो श्रीमतीले १ वर्षको छोरा छोडेर अन्तै विवाह गरे पश्चात जमुना नेपाली सार्कीसंग दोस्रो विवाह गरेको खुलेको छ ।
जमुना नेपालीले नै पहिलो श्रीमती तर्फको एक मात्र छोरालाई पालन पोषण गरी हुर्काएकोमा हाल विवाह गरेर परिवार सहित पुरानो घर माछापुच्छ्रे गा.पा. वडा नं. ५ रिमानमा बस्दै आएका छन् ।
श्रीमानले ज्यामी काम गर्ने र श्रीमतीले घरयासी काम गरी बस्ने गरेका थिए । पक्राउ परेका सार्की माथि जिल्ला अदालत कास्कीबाट म्याथ गरेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।





