अन्नपूर्ण क्षेत्रमा पर्यटक २५ प्रतिशतले बढे

-


     क्लिक गण्डकी     
     श्रावण ४ गते २०८२ मा प्रकाशित


अन्नपूर्ण

अन्नपूर्ण

पोखरा, ३ साउन/ पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा पर्यटक आगमनमा २५ प्रतिशतले वृद्धि भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा २ लाख २२ हजार १ सय ८० विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेकोमा गत आर्थिक वर्ष २०८१/८२ मा २ लाख ७८ हजार १ सय १३ विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

तीमध्ये दक्षिण एसियाली मुलुकका १ लाख ५७ हजार ७ सय ८६ र अन्य देशका १ लाख २० हजार ३ सय २७ पर्यटक रहेका छन् । एक वर्षको अन्तरमा ५५ हजार १ सय ३३ पर्यटक बढेको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी चैत महिनामा ४४ हजार ९ सय ७७ पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा भित्रिएका थिए । सबैभन्दा कम साउनमा ५ हजार ७ सय १० पर्यटक आएका थिए । सबै भन्दा धेरै भारतबाट १ लाख ५३ हजार ८ सय ६५, चीनबाट १० हजार ७ सय ९, अमेरिकाबाट ९ हजार ५ सय ३७, फ्रानसबाट ९ हजार १ सय ९७ रहेका छन् ।

यस्तै भदौमा १३ हजार दुई सय ७९, असोजमा ३० हजार सात सय ३२, कात्तिकमा ३३ हजार तीन सय १०, मङ्सिरमा १४ हजार ११, पुसमा १४ हजार ३३, माघमा ९ हजार ३४, फागुनमा १९ हजार चार सय ७०, वैशाखमा ४१ हजार आठ सय ५३, जेठमा ३१ हजार नौ सय ५५ र असारमा १९ हजार सात सय ४९ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका प्रमुख डा कडरियाले बताए ।