मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ

-


     क्लिक गण्डकी     
     जेठ ३२ गते २०८२ मा प्रकाशित


मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ

मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ

पोखरा, ३१ जेठ/ पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा शनिबारदेखि गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीका लागि आयोजित प्रतियोगिता दुइदिनसम्म चल्नेछ । विद्यालयले आयोजना गरेको यो तेश्रो संस्करण हो ।

प्रतियोगिता संयोजक विष्णुप्रसाद गौतमका अनुसार प्रतियोगितामा विभिन्न ७८ वटा टिमले सहभागिता जनाएका छन । ७८ वटा टिममा २ सय ३४ जना विद्यार्थी सहभागि छन् । हरेक टिममा ३ जनाको दरले विद्यार्थीले प्रतियोगितामा भाग लिएका छन ।

‘एसइइ परीक्षा दिएर फुर्सदिला भएका विद्यार्थीलाई पढाईमा जोड्नका लागि प्रतियोगिता आयोजना गरिएको हो,’ गौतमले भने, ‘यसले विद्यार्थीलाई पढाईमा सक्रिय राख्न सघाउँछ ।’ गौतमका अनुसार एउटै विद्यालयबाट एक भन्दा बढी टिम पनि सहभागि भएका छन् । प्रतियोगिता आइतबारसम्म संचालन हुनेछ ।

विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने टिमले जनही ३०, २०, १० र ५ हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी पाउनेछन । सहभागि सबै टिमले प्रमाणपत्र पाउनेछन ।

‘विद्यार्थी फुर्सदमा हुँदा उनीहरु अलमलमा पर्न सक्छन । हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीलाई पठनपाठनमा सक्रिय बनाईरहन्छ,’ आचार्यले भने ।

विद्यालयका प्राचार्य डा. नारायण बरालले विद्यार्थीको अन्तरनिहीत क्षमता बाहिर देखाउनका लागि हाजिरीजवाफ प्रतियोगिता एउटा अवसर बनेको बताए । ‘एसइइ दिएका कतिपय बालबालिका अहिले फुर्सदमा छन, कतिपयले सीपमुलक काम पनि सिकिरहेका छन ।

उनीहरुलाई कुनै न कुनै कार्यक्रममा सहभागि बनाउन सकियो भने फलदायी हुन्छ । विद्यार्थीले तयारी स्वरुप अध्ययनलाई निरन्तरता पनि दिई नै रहन्छन,’ बरालले भने, ‘यसले विद्यार्थीलाई सक्रिय बनाइरहन्छ, किताबसँग जोडिरहन्छ ।’ विद्यार्थीमा रहेको क्षमता प्रस्फुटन गराउनका लागि पनि यस्ता कार्यक्रम जरुरी रहेको उनले बताए ।