पोखरामा सुनचाँदी पसल सञ्चालकलाई कर्मचारीले पारिन् हनी ट्र्यापमा, ३ जना पक्राउ

-


     क्लिक गण्डकी     
     जेठ ३० गते २०८२ मा प्रकाशित


पोखरामा सुनचाँदी पसल सञ्चालकलाई कर्मचारीले पारिन् हनी ट्र्यापमा, ३ जना पक्राउ

पोखरामा सुनचाँदी पसल सञ्चालकलाई कर्मचारीले पारिन् हनी ट्र्यापमा, ३ जना पक्राउ

पोखरा, २९ जेठ/ पोखराका सुनचाँदी पसल सञ्चालक आफ्नै कर्मचारीको हनी ट्र्यापमा परेका छन् । पोखरा महानगरपालिका ४ स्थित सुनचाँदी पसलका सञ्चालकलाई उनकै पसलमा काम गर्ने महिलाले २ जना केटा साथीको सहयोगमा हनी ट्र्यापमा पारेको कास्की प्रहरीले जानकारी दिएको छ ।

ती महिलाले दुई जना केटासाथी सँग मिलेर आफूलाई पसलका सञ्चालकले यौन दुव्र्यवहार गरेको भन्दै ५० लाख रुपैयाँ माग्ने योजना बनाएको खुलेको छ । योजना अनुसार मोरङ र संखुवासभाका २ जना केटासाथीसँग मिलेर सुनचाँदी पसलका सञ्चालककी श्रीमतीलाई होटलमा बोलाएका थिए ।

ती महिलाले आफ्नो लागि जीनदगीभरको लागि पुग्ने धनसम्पत्ती, बस्ने घर र व्यवसायको लागि व्यवस्था गरिदिन माग गरेका थिए । यसका लागि ५० लाख रुपैयाँ नदिए श्रीमान्लाई जबर्जस्ती करणीको मुद्दामा फसाइदिने धम्की दिएका थिए ।

पीडित महिलाले यसरी रकम माग गरेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीमा गराएकी थिइन् । त्यसपछि खटिएको प्रहरीले कास्कीको पोखरा महानगरपालिका १५ टुटुङ्गाकी २७ वर्षीया मरियम राई, मोरङको बिराटचोकका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका २ का ४० वर्षीय टेकबहादुर सुवेदीलाई पक्राउ गरेको छ ।

उनीहरुविरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । उनीहरुलाई आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धि कसुरमा अनुसन्धान अगाडी बढाएको पनि डीएसपी बस्नेतले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट रकम बार्गेनिङ गरेको अडियो समेत फेला पारेको छ ।

आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसूरमा ३ जना मानिस पक्राउ

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ स्थितमा रहेको सुनचाँदी पसलका संचालकलाई सोही पसलमा काम गर्ने महिलाले आफ्ना २ जना केटा साथीहरुलाई “मेरो पसलको साहुले म माथी यौन दुर्व्यवहार गरेको छ रु.५०,००,०००।– (पचास लाख) माग्नुपर्छ” भनी जिल्ला मोरङ र संखुवासभामा बस्ने २ जना केटा साथीहरुलाई बोलाई तीनैजना मिली हप्ता दिनसम्म पोखरा ६ लेकसाईड स्थित होटलमा सुनचाँदी पसल संचालककी श्रीमतिलाई बोलाई ‘जिन्दगीभर पुग्ने धनसम्पत्ती, बस्ने घर तथा व्यवसायको लागि प्रवन्ध गरी दिनुहोस् होइन भने हामी तिम्रो श्रीमानका विरुद्धमा विभिन्न मुद्दा मामिला गरी सडाई दिन्छौ’ भन्ने धाकधम्की दिएको र रु.५०,००,०००।– (पचास लाख) मागेको भन्ने सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त घटनामा संलग्न निम्न ३ जना व्यक्तिहरुलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट आपराधिक विश्वातघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

पक्राउ व्यक्तिहरुको विवरण

१.   जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १५ टुटुङ्गा बस्ने वर्ष २७ की मरियम राई,

२.   जिल्ला मोरङ बिराटनगर चोक घर बताउने वर्ष ३८ को देव लिम्बु,

३.   जिल्ला संखुवासभा सभापोखरी गा.पा. २ बस्ने वर्ष ४० को टेक बहादुर सुवेदी ।