कास्कीबाट शुरु भएर मुक्तिनाथ पुग्ने मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

-


     क्लिक गण्डकी     
     जेठ २३ गते २०८२ मा प्रकाशित


सिक्लेस अन्नपूर्ण केबुलकार

केबुलकार

पोखरा, २३ जेठ/ लगानी बोर्डले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृति लगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले कास्कीको सेराफाँट (वीरेठाँटी) नयाँ पुलदेखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशन सहित ८१ दशमलव ०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत भएको हो ।

५७ अर्ब ६४ करोड ३७ लाख लगत रहने उक्त परियोजना निर्माण, स्वामित्वकरण, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न प्रस्ताव गरेको थियो ।

बैठकले उक्त प्रालिसँग परियोजना विकासको सम्झौताको शर्त आदि विषयमा वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ ।

उक्त केवलकार सञ्चालनमा आएमा स्थानीयस्तरमा ठूलो मात्रामा पर्यटक र रोजगारी वृद्धि हुने अपेक्षा गरिएको छ ।