फेवाताल सिमाङ्कनबारे पोखरा पर्यटन परिषदको विमती

-


     क्लिक गण्डकी     
     जेठ २१ गते २०८२ मा प्रकाशित


फेवातालको सिमानामा पोल गाड्न शुरु, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मयेर धनराज आचार्य विरुद्ध नाराबाजी

फेवातालको सिमानामा पोल गाड्न शुरु, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मयेर धनराज आचार्य विरुद्ध नाराबाजी

पोखरा, २० जेठ/ फेवातालको सिमाङ्कन भन्दै बिना योजना पोल गाड्न थालेकोप्रति पोखरा पर्यटन परिषदले आपत्ति जनाएको छ । परिषदले सोमबार पत्रकार सम्मेलन गरेर सिमाङ्कनको दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्ने काम गर्न ध्यानाकर्षण गराएको हो । परिषदले बिना योजना ६५ मिटर मापदण्ड लगाउँदा पर्यटनको केन्द्र लेकसाईड मासिने खतरा रहेकोप्रति सचेत गराएको छ ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन बनेको सहजीकरण समितिले शनिबारदेखि फेवातालको साँधमा भौतिक पोल गाड्न शुरु गरेको छ । सहजीकरण समितिका संयोजकसमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतराज पाण्डेको उपस्थितिमा शुभारम्भ गरिएको पोल गाड्ने कार्यक्रममै उपस्थित स्थानिय तथा पर्यटन व्यवसायीहरुले विरोध गरेका थिए ।

परिषदले फेवातालको सिमाङ्कन दीर्घकालीन रुपमा समाधान गर्ने हो भने ६५ मिटर मापदण्डबारे पुर्नमूल्याङ्कन गर्नुपर्ने बताएको छ । यसअघि मानबहादुर जिसी मेयर भएको बेलामा महानगरपालिकाले फेवातालको मापदण्ड ३० मिटर कायम गर्ने निर्णय भएकाले सो निर्णय कार्यान्वयन गराउँदा उपयुक्त हुने उसको भनाई छ । आवश्यक परे बढि लिएपनि स्थानियसँग छलफल गरेर उचित मुआब्जाको प्याकेज प्लान पर्यटन व्यवसायी गणेश भट्टराईले माग गरे ।

६ महिना भित्रमा फेवाताल संरक्षणको काम सक्न भनेर सर्वोच्च अदालतको आदेश आएको दुई वर्षपछि आफूबिरुद्ध मानहानी लाग्छ भनेर गालबाट जोगिनमात्र पोल गाड्ने काम भएको उनीहरुका आरोप छ । समाधान गर्ने नियतले होईन, केवल स्टन्टका लागि मात्र पोल गाड्ने कामको शुरुवात भएको भन्दै जनताको घाँटीमा तरवार झुण्ड्याएर तर्साउने काम बन्द गर्न आग्रह गरे ।

सदियौंदेखि बस्दै आए, जसको पिता, पूर्खाले फेवाताल जोगाए, उसैलाई लखेट्न खोजेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सुर्य भुजेलले बताए । उनीहरुले अदालतले हचुवामा फैसला गरेको त्यहि फैसलाका आधारमा अहिले प्रदेश र स्थानिय सरकारले स्थानिय जनतासँग छलफल नगरी सिमाङ्कन गर्न खोज्नू गलत भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।

उनीहरुले सन् १९५० को माउण्टेन टुरिजमदेखि १९६० को हिप्पी टुरिजमसम्मको ऐतिहासिक पृष्ठभूमिमा विकास हुँदै आएको लेकसाइड क्षेत्र ड्यामसाइड, गौरीघाट, बाराहीचोक, हल्लनचोक, खहरे, गैरा चौतारा हुँदै खपौदीसम्मका क्षेत्रमा अरबौं रूपैयाँको लगानी रहेको बताएका छन् । होटल, रेष्टुराँ, गेष्टहाउस, ट्राभल एजेन्सी तथा ट्रेकिङ कार्यालयमा व्यापक लगानी रहेको पोखरा पर्यटन परिषद् बरिष्ठ उपाध्यक्ष हरी भुजेलले बताए ।

पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा तालघरमा सीमा स्तम्भहरू गाड्ने तीन दिन देखी जारी छ । तेस्रो दिन रत्न मन्दिर परिसरको तालघरमा १२ वटा पिल्लरहरु गाडिएको छ । अहिले सम्म २७ वटा पिल्लर गाडिएको छ । तालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफलको चार किल्लामा १०५५ पोलहरू गाडिनेछन् ।



Tags: