
पोखरामा अलपत्र परेकालाइ स्कटिङ गरी पठाइयो
पोखरा, १९ जेठ/ यातायात व्यवसायीले गरेको आन्दोलनबाट पोखरामा अलपत्र परेका यात्रुहरुलाई प्रहरी स्कटिङ गरी गन्तव्य तर्फ पठाइएको छ । पर्यटक बस (हरियो प्लेट) लाई जिल्ला प्रहरी कार्यालय कास्कीले स्कटिङ गरेर पोखरामा अलपत्र परेका यात्रुहरुलाई सुरक्षित रुपमा पठाएको छ ।
सोमबार बिहान पोखरा महानगरपालिका वडा नं ७ स्थित पर्यटक बसपार्कमा जम्मा भएका करिब ५६४ जना यात्रुहरुलाई गन्तव्यतर्फ पठाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो ।
प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतको कमाण्डमा खटिएको नेपाल प्रहरी टोली र सशस्त्र प्रहरी निरीक्षक रमेश कंडेलको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल नं २४ गण, हेक्वा कालिकाबाट खटिएको टोलीको समन्वयमा आवश्यक सुरक्षा व्यवस्था मिलाई यात्रुहरुलाई गन्तव्यतर्फ पठाइएको हो ।
संयुक्त टोलीको पहलमा पोखराबाट काठमाण्डौंतर्फ जाने १४ वटा सवारी साधन र नारायणगढतर्फ जाने ३ वटा सवारी साधन गरी जम्मा १७ वटा सवारी साधनहरुलाई प्रहरी स्कटिङसहित पठाइएको थियो ।
जुन सुकै बन्दमा पनि सञ्चालन हुने पर्यटक बसलाई व्यवसायीले अवरोध गरेका नाट्टा गण्डकीका निर्वतमान अध्यक्ष हरीराम अधिकारीले खेज व्यक्त गरे । उनले तीन दिन देखी प्रहरीले स्कटिङ गरेर लैजानु पर्ने बाध्यता तत्काल हटाउन व्यवसायी सगँ आग्रह गरे ।







