
कास्कीका सिडिओमा पाण्डेको सरुवा, रुद्रादेवी शर्मा आइन्
पोखरा, १८ जेठ/ गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । कास्की, बर्दिया, धनुषा र पाँचथर जिल्लामा नयाँलाई जिम्मेवारी तोकेको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा बर्दियाकी सिडिओ रुद्रादेवी शर्मा आएकी छन् । पाण्डे अघिल्लो वर्ष जेठ २१ गते कास्कीमा हाजिर भएका थिए ।
शर्माको स्थानमा मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
यसै गरी धनुषाका सिडिओ रामुराज कडरियालाई पनि मन्त्रालय तानिएको छ भने केही समययता मन्त्रालयमै जिम्मेवारीविहीन अवस्थामा रहेका शंकरहरि आचार्यलाई धनुषाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
पाँचथरमा रिक्त रहेको सिडिओको पदमा अरुण पोखरेललाई पठाइएको छ । पोखरेल यसअघि नवलपरासी (पूर्व) का प्रमुख जिल्ला अधिकारी थिए ।
पाँचथरका सिडिओ विष्णुप्रसाद कोइराला अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएपछि उक्त पद खाली रहेको थियो ।







