
रत्नमन्दिर र हिमागृह परिसरमा फेवातालको ८ वटा सीमा स्तम्भहरू गाडिए
पोखरा, १८ जेठ/ सर्वोच्च अदालतको आदेशअनुसार फेवाताल सिमाङ्कनको कार्य जारी रहेको छ । आइतबार दोस्रो तालको सीमा क्षेत्रमा थप ८ वटा सीमा स्तम्भहरू गाडिएका छन् ।
रत्नमन्दिर र हिमागृह परिसरमा सीमा स्तम्भहरू गाडिएको महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापाले बताउनुभयो । पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घ सरकारको संयुक्त पहलमा १८ महिना लामो अध्ययन पश्चात् ताल घरमा सीमा स्तम्भ गाड्न थालिएको हो ।
शनिवार ७ वटा पिल्लरहरु गाडिएका थिए । सीमा स्तम्भ गाड्ने कार्यको नेतृत्व पोखरा महानगरपालिकाले गरिरहेको छ । फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिको निर्णायानुसार तालको ताल घरमा सीमा स्तम्भहरू गाड्न सुरु गरिएको हो ।
तालको चार किल्ला क्षेत्रमा १ हजार ५५ वटा सीमा स्तम्भहरू गाडिने छन् । त्यसपछिको चरणमा ताल क्षेत्रमा पर्ने जग्गाको अवस्थाका बारेमा थप अध्ययन गरिने र मुआब्जा दिनु पर्ने वा नपर्ने भन्ने विषयको यकिन गरिने नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । यसरी चरणबद्ध रूपमा ५६ मिटरको क्षेत्र खाली गर्ने कामहरू हुने उहाँले बताउनुभयो ।
पछिल्लो अध्ययन अनुसार तालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर (१२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम) कायम भएको छ । सम्मानित सर्वोच्च अदालतले तोकेको ६५ मिटर समेतको कुल क्षेत्रफल ७.६१६ वर्ग किलोमिटर (१४ हजार ९७० रोपनी ५ आना २ दाम) हुन आउँछ ।





