
बन्द र हड्लातलाई माग पूरा गराउने साधन नबनाउन संघ सस्थाको आग्रह
पोखरा, १८ जेठ/ पोखरा उद्योग वाणिज्य संघले आफ्ना माग पूरा गराउन बन्द र हड्ताललाई साधन नबनाउन आग्रह गरेको छ । संघले वार्ताकै माध्यमबाट गतिरोधको अन्त्य गर्न सम्बन्धि पक्षलाई अनुरोध पनि गरेको छ । संघले सार्वजनिक यातायात क्षेत्रमा भएको निजी लगानीको सुरक्षणलाई नजरअन्दाज नगर्न पनि सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
गण्डकी प्रदेश सरकारबाट राइड सेयरिङलाई व्यवस्थित र नियमन गर्न जारी ‘राइड सेयरिङसबन्धी नियमावली २०८२’ को विरुद्धमा यातायात व्यवसायी राष्ट्रिय महासंघले आह्वान गरेको विरोधका कार्यक्रम र सार्वजनिक यातायात अवरुद्ध पारिएपछि संघले आइतबार विज्ञप्तिमार्फत् सो आग्रह गरेको हो ।
संघका उपमहासचिव सुदीप प्रधानाङ्गद्वारा जारी विज्ञप्तिमा संघ सदैव बन्द र हड्तालको विरुद्धमा रहँदै आएको स्मरण गर्दै भनिएको छ,‘हामी हरेक प्रकारका बन्द र हड्तालका कार्यक्रमको सख्त बर्खिलापमा छौँ ।एक दिनको बन्द र हड्तालले अर्थतन्त्रमा ६ अर्ब रुपैयाँभन्दा बढीको क्षति हुने गरेको आँकडालाई कसैले पनि नजरअन्दाज गर्न मिल्दैन भन्ने हाम्रो मान्यता रहेको छ । आफ्नो पेशा/व्यवसायको सुरक्षाको माग नाजायज हैन तर बन्द र हड्ताललाई त्यस्ता माग पूरा गराउने साधन बनाइन हुँदैन ।’
संघले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको स्वागत गरेको छ भने प्रविधिलाई रोक्न नमिल्ने आफ्नो धारणा पनि प्रष्ट पारेको छ ।
‘सूचना–प्रविधिको विकास र यसले खोलेका सम्भावनाका नयाँ आयामहरुलाई रोक्न सकिँदैन/मिल्दैन । राइय सेयरिङ सूचना–प्रविधिले दिएको अर्को अवसर र सुविधा हो भन्ने हाम्रो ठम्याइ रहेको छ । विभिन्न विकसित राष्ट्रमा वैधानिक तरिकाले निर्वाध संचालनमा आएको राइड सेयरिङलाई कानूनी दायरामा ल्याइ नियमन गर्नु स्वागतयोग्य कदम हो,’विज्ञप्तिमा भनिएको छ,‘ यसले रोजगारी सिर्जना,राजश्व वृद्धि र यृुवा पलायन रोक्न पनि उत्तिकै योगदान दिन्छ भन्नेमा हामी प्रष्ट छौँ ।
यसर्थ, पोखरा उद्योग वाणिज्य संघ गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङसबन्धी नियमावली २०८२’ लाई हार्दिक स्वागत गर्दछ । नियमावलीले संचालनमा रहेका राइड सेयरिङलाई व्यवस्थित र सुरक्षित बनाउने हाम्रो अपेक्षा रहेको छ ।’
संघले निजी क्षेत्रको ठूलो लगानी रहेको सार्वजनिक यातायात क्षेत्रलाई नजरअन्दाज नगर्न र यसमा भएको लगानीको सुरक्षाप्रति गम्भीर बन्न संघीय तथा प्रदेश सरकारसँग अनुरोध पनि गरेको छ ।
यातायात संचालन राज्यको दायित्व भए पनि नेपालमा यसको जिम्मेवारी लामो समयदेखि निजी क्षेत्रले नै लिँदै आएको तथ्य मनन गर्दै विज्ञप्तिमा भनिएको छ,‘ स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने संवैधानिक अधिकार उपभोग गर्दै संचालित सार्वजनिक सेवालाई भरपर्दो, यात्रुमैत्री तथा सर्वसुलभ बनाउन राज्यले सहजीकरण र प्रोत्सहित गर्नैपर्छ । निजी क्षेत्रको लगानीको सुरक्षणको जिम्मेवारीबाट राज्य पन्छन मिल्दैन ।
जहाँसम्म राइड सेयरिङले सार्वजनिक यातायात क्षेत्र तहस–नहस पार्ने यातायात व्यवसायीको तर्क छ, त्यो विषयलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ÷वास्तविकता के हो भन्ने प्रष्ट पार्नुपर्छ ।’ विज्ञप्तिमा वर्तमानमा देखिएको गतिरोध अन्त्यका लागि पोखरा उद्योग वाणिज्य संघ सहजीकरणका निम्ति तयार रहेको पनि उल्लेख छ ।
हड्तालको समस्या वार्ताबाट मिलाउन होटल संघको माग
होटल संघ पोखरा नेपालले गण्डकी प्रदेशमा जारी सार्वजनिक यातायात सेवामा गरिएको हड्तालका कारण पर्यटक र समग्र यात्रु वर्गले दुःख खेप्नु परेको भन्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्न सम्वन्धित पक्षसँग माग गरेको छ ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले आइतबार जारी गरेको विज्ञप्तिमा सरकार र यातायात व्यवसायी वार्तामा बसेर समस्या समाधान गर्न र यातायात सेवालाई सुचारु गर्न अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘व्यवसायीका तर्फबाट जेजस्ता मागहरु राखेर आन्दोलन गरिए पनि सरकार र व्यवसायी वार्ताका माध्यमबाट एउटा निश्कर्षमा पुगी सार्वजनिक यातायात सेवालाई सुचारु गर्ने वातावरणका लागि सम्वन्धित सबै पक्षलाई हामी हार्दिक अनुरोध गर्न चाहन्छौं ।’
पर्यटन व्यवसायीले विगतदेखि नै बन्द र हड्तालको विपक्षमा आवाज उठाउँदै आएको र बन्द तथा हड्तालका कारण पर्यटन क्षेत्र नकारात्मक रुपमा प्रभावित हुने विषय उल्लेख गर्दै संघले बन्द हड्तालले देशविदेशमा सकारात्मक सन्देश नजाने उल्लेख गरेको छ ।
पर्यटनका लागि सहज पहुँच र यातायात अनिवार्य शर्त भए पनि विगत तीन दिन देखि गण्डकी प्रदेश क्षेत्रमा सार्वजनिक यातायातका साधन संचालन हुन सकेका छैनन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजी लगायतका मागहरु राखेर यातायात व्यवसायी र सम्वन्धित मजदूरका तर्फबाट अगाडि बढाइएको आन्दोलनको प्रत्यक्ष मारमा यात्रु वर्ग पर्नु दुःखको कुरा भएको संघले जनाएको छ ।
पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको, पोखराले अहिले भ्रमण वर्ष २०२५ मनाउँदै गरेको र अन्नपूर्ण प्रथम हिमाल आरोहणको हिरक महोत्सव समेत मनाउने संघारमा गरिएको यातायात हड्तालको समस्या समाधानको उपाय वार्ता नै भएको अध्यक्ष सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसै गरी नेपालको पर्यटनको राजधानी पोखरा र गण्डकी प्रदेशमा हालै पर्यटक सवारी साधनहरुको संञ्चालनको क्रममा भएको अवरोधहरुप्रति पोखरा पर्यटन परिषदको गम्भिर ध्यानाकर्षण भएको ।
यस्ता पोखरा पर्यटन परिषद्ले विज्ञप्ती जारी गर्दै अवरोधहरुले गण्डकी प्रदेशको समग्र पर्यटन व्यवसायमा प्रतिकुल असर पार्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुमा नकरात्मक सन्देश प्रवाह हुने खतरा बढदछ । पर्यटन क्षेत्र नेपालको समृद्धिको मुख्य आधार मध्ये एक हो र यसलाई व्यवस्थित एवं सुरक्षित बनाउनु सरोकारवालाहरुको साझा दायित्व हो ।
बन्द नै समाधान होईन । यसै सन्दर्भमा पोखरा पर्यटन परिषद सम्बन्धित सबै सरोकारवाला निकायहरु प्रति गम्भिर ध्यानाकर्षण गराउँदै विगतमा सवै बन्द हडतालमा पनि निर्वाध रुपमा संचालन भएका पर्यटक सवारी साधनहरुलाई निर्वाध रुपमा संचालन गर्ने वातावरण सृजना गर्न सार्वजनिक यातायात वचाऊँ सघर्स समिति २०८२ र सबै पक्ष समक्ष पोखरा पर्यटन परिषद जोडदार माग गर्दछ ।
हामी शान्तिपूर्ण, व्यवस्थित र पर्यटकमैत्री वातावरण निर्माण गर्न सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउँदछौँ ।





