
राईड सेयरिङ सम्बन्धमा गण्डकी सरकारले व्यवसायीलाई वार्ता बोलो, व्यवसायी द्धारा व्यवास्था
पोखरा, १८ जेठ/ सरकारले राईड सेयरिङ सम्बन्धि नियमावली राजपत्रमा प्रकाशित गरी कार्यान्वलयनमा ल्याएपछि आन्दोलनमा उत्रिएका व्यवसायीलाई वार्तामा बोलाएपनि व्यवास्था गरेका छन् । मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै व्यवसायीलाई वार्तामा बोलाए पनि नआएको जानकारी दिएको छ ।
सर्वसाधारणलाई यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवासायी वार्ता नआएको वार्ता समिति संयोजक तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव ई.कमलकुमार अधिकारीले बताए । उनले राईड सेयरिङ नियमन र व्यवस्थापन गर्न बनेको नियमावली सम्शोधन हुन सक्ने तर खारेज नहुने बताए ।
सरकारले राईड सेयरिङ सम्बन्धि नियमावली राजपत्रमा प्रकाशित गरी कार्यान्वलयनमा ल्याएपछि सो निमायवली खारेजीको माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तीन दिनदेखि आन्दोलित छ । महासंघको आह्वानमा यातायात व्यवसायीहरुले यात्रुवाहक तथा मालवाहक सवारी साधन घर, ग्यारेजमा थन्क्याएका छन् । जसले गर्दा यात्रुले हैरानी खेप्नु परेको छ ।
वार्ता समिति तथा मन्त्रालयले यातायात व्यवसायीलाई वार्तामा आउन आह्वान गरेको छ । सरकारले अधिकारीको संयोजकत्वमा वार्ता समिति बनाएर व्यवसायीलाई वार्तामा बोलाएको थियो । तर व्यवसायीले वार्ता समितिसँग औपचारिक रुपमा वार्ता गर्न रुची देखाएको छैन ।
बारम्बारको ताकेता गर्दापनि व्यवसायी वार्तामा नआएपछि आईतबार पत्रकार सम्मेलन गरेरै व्यवसायीलाई पुनः वार्तामा आउन आह्वान गरेको हो ।
प्रदेशले बनाएको राईड सेयरिङ सम्बन्धि नियमावली संघको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ तथा नियमावली २०५४ सँग नबाझिने वार्ता समिति सदस्य तथा यातायात विभाग प्रमुख प्रेम सुवेदीले बताए ।





