
राइड सेयरिङको विषयमा यातायात व्यवसायी आन्दोलनमा, १६ गते देखी यातायात ठप्प
पोखरा, १४ जेठ/ गण्डकी प्रदेश सरकारले वार्तामा बोलाएको दिन यातायात व्यवसायीले सेवा बन्द गर्ने घोषणा गरेका छन् । राइड सेयरिङलाई वैधानिकता दिएको विरोधमा देशैभरको सार्वजनिक यातायात ठप्प पार्ने योजनासहित व्यवसायीले आन्दोलित भएका हुन् । बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर व्यवसायीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
यातायात व्यवसायीलाई मन्त्रालयले मंगलबार पत्राचार गरी वार्तामा बोलाए पनि अहिलेसम्म दोहोर संवाद हुन नसकिरहेको अवस्थामा व्यवसायीले जेठ १६ देखी गण्डकी प्रदेश र जेठ १९ गते देखी देशभरीका सर्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका छन् । यस पहिले जेठ १५ गतेदेखि सेवा ढप्प पार्ने घोषणा गरेका व्यवसायले गणतन्त्र दिवसलाई मध्यनजर गदै १६ गतेबाट यातायात बन्द गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सचिब योगेन्द्रबहादुर केसीले बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र एकीकृत ट्रेड युनियन महासंघ गण्डकी लगायतका आठ संगठनहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी १७ बुँदे मागपत्र सार्वजनिक गरेका छन् ।
निजी सवारीसाधनलाई सार्वजनिक सवारीसरह यात्रु ओसारपसार गर्न दिने राइड सेयरिङ सम्बन्धि नियमावली पूर्ण रुपमा खारेज गर्नुपर्ने, सार्वजनिक सवारीको आयु सीमा हटाउनुपर्ने, सार्वजनिक सवारी साधन संचालन बिधि र अयात नीति योगदानमा आधारित सामाजिक सुरक्षा कोष लगायतका विषयहरू समेटिएका छन् ।
गण्डकी प्रदेश सरकारले ल्याएको सवारी तथा यातायात व्यवस्था नियमावली २०८० को विरोधमा यातायात व्यवसायी र मजदुर संगठनहरूले आन्दोलनको चेतावनी दिएका थए । उनीहरूले नियमावली संघीय सवारी ऐन, २०४९ सँग बाझिएको भन्दै तत्काल खारेज गर्न माग गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, गण्डकीका अध्यक्ष केदार प्रसाद पौडेलले बताए ।
यस पहिले याताया सम्बद्ध व्यवसायी र मजदुरका केन्द्रीय नेताले पोखरामा आएर प्रदेशको निर्णयविरुद्ध देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए । निजी सवारीलाई यात्रु ओसारपसार गर्न दिने नियमले व्यवसायीहरू समस्यामा परेको पुराना यातायात व्यसायीले बताउै आएका छन् ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ ले निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न नपाइने र दफा १२ ले एक प्रयोजनका निम्ति प्रयोग भएका सवारी अर्को प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । यातायात व्यवसायीले यही व्यवस्था देखाएर रातो नम्बर प्लेटका सवारी भाडामा लगाउन नहुने आवाज उठाउँदै आएका छन् ।





