
क्षितिज थेबे र सुमन पुरी
पोखरा, १३ जेठ/ पोखरामा जारी युवा संघको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । पोखरा सभागृहमा मतदान प्रक्रिया चलिरहेका छ ।
बिहान १० बजेदेखि सुरु मतदानको दिउँसो ३ बजे भएपनि अहिले सम्म लाइनमा बसेकाहरुले मतदान गरिरहेका छन् । अहिले सम्म कबिर १२ सय भन्दाबढि मतदान गरिसकेका छन् । अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी चुनावी मैदानमा छन् ।
मतदानका लागि ४५ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ । प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै बुथ राखिएको छ । नयाँ नेतृत्व चयनका लागि १ हजार ७ सय ६४ जना प्रतिनिधिले मतदान गर्नेछन् । मतदाताले मतदान मार्फत अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव, उपमहासचिव, सचिव चारजना गरी नौ पदाधिकारीसँगै १५१ सदस्यीय नयाँ समिति चयन गर्नेछन् ।
सँगै निर्वाचन, अनुशासन, युवाविज्ञ र लेखा आयोगका लागि अध्यक्ष, उपाध्यक्ष र सचिव गरी कुल १६३ जनासमेत निर्वाचनमार्फत चयन हुनेछन् । निर्वाचित हुने कुल १६३ जनामध्ये ९३ पदका लागि मतदान भएको हो भने अन्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
अध्यक्षका लागि हालका अध्यक्ष क्षिजित थेबे र हालका महासचिव सुमन पुरी मैदानमा उत्रिएका छन् । निर्वाचनमा क्षितिज समूहबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिव महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मोबिन आलम, मदन भण्डारी, देबु बस्नेत र निशा लिम्बूले उम्मेदवारी दिएका छन् ।
यसैगरी पुरी समूहबाट उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महासचिव कुवेर अधिकारी, उपमहासचिव खेम शर्मा, सचिवमा रेशु तामाङ, चित्ररञ्जन यादव, ध्रुव खड्का र अरुण कुँवरले उम्मेदवारी दिएका छन् ।





