
प्याराग्लाइडिङ अवतरण अब खपौदीमै, व्यवसायी उत्साहित
पोखरा, ८ जेठ/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पछि सराङकोटबाट कास्कीकोट तर्फ धकेलिएको प्याराग्लाइडिङ पुनः पूर्वतर्फ सरेको छ । नागरिक उड्डयन प्राधिकरणले साविकको अवतरणस्थल खपौदी (इन्ड अफ दी लेक) मा बिहीबारबाट अवतरणका लागि अनुमति दिएको छ ।
पहिला सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरू भएर फेवातालको किनार सेती र खपौदीमा अवतरण हुन्थ्यो । विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट उडान (टेकअफ) स्थल ५ किलोमिटर हवाई दूरीमा पश्चिमतर्फ मान्द्रेढुंगामा सरेको थियो । अवतरणस्थल खपौंदीबाट पामेमा सरेको थियो । प्राधिकरणले सुरक्षाको कारण देखाउँदै प्याराग्लाइडिङको उडान र अवतरणस्थल सारेको थियो ।
सराङकोटबाट सरेपछि तालमाथि प्याराग्लाइडिङ नहुने भएकोले उडान गर्नेको संख्या घटेको थियो । गत वर्ष टेकअफ स्थल मान्द्रेढुंगाबाट पूर्वतर्फ तोरीपानीमा सरेपछि व्यवसायीले केही राहत महसुस गरेका थिए । अवतरणस्थल भने पामे नै थियो ।
अवतरणस्थल खपौंदी सरेपछि प्याराग्लाइडिङ व्यवसाय पुरानै लयमा फर्किने व्यवसायीको अपेक्षा छ ।
प्याराग्लाइडिङको उडान समयसमेत बढाइएको छ । पहिले बिहान ११ बजेदेखि ३ बजेसम्म मात्रै उडान हुने गरेकोमा बिहीबारबाट दिउँसो साढे ४ बजेसम्म उडाउन गर्न सक्ने छन् । संस्थाका अध्यक्ष अनिल केसीले गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, जनप्रतिनिधि र पर्यटन व्यवसायीको सकरात्मक पहलले अवतरण स्थल सर्न सम्भव भएको बताए ।





