
पोखरामा जेठ दोस्रो साता ‘होमस्टे मार्ट’
पोखरा, ६ जेठ/ पोखरामा जेठ ९ र १० गते पोखरामा गाउँ पर्यटन मेला (होमस्टे मार्ट) आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह–आयोजनामा पोखरामा दुई दिने होमस्टे मार्ट गरिन लागेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजारसम्म जोड्ने प्रयत्न स्वरुप आयोजना गर्न लागेको होमस्टे मार्टमा गण्डकी प्रदेशका २५ वटा होमस्टे सहभागि हुने छन् । मार्टमा सहभागी होमस्टे सञ्चालकहरुले आ–आफ्ना होमस्टेमा प्रदान गरिने प्याकेजका बारेमा जानकारी दिने नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।
मेलामा सामुदायिक होमस्टे तथा गाउँको पर्यटन व्यवसायीका स्टल, गाउँ पर्यटन प्रवद्र्धनमा उद्योग र व्यवसायीको भूमिका, गाउँ पर्यटन प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिकाबारे अन्र्तक्रियात्मक छलफल हुनेछन् । विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुती, गाउँ पर्यटन सम्बन्धी प्रचारप्रसारका सामग्रीको वितरण लगायतका कार्यक्रम समावेश हुने उनले बताए ।
सामुदायिक होमस्टे र सेवाहरुको बारेमा जानकारी दिने, बजारीकरण तथा बजारसँग जोड्ने, गाउँमा रहेका पर्यटन व्यवसायी र संभावित ग्राहक तथा पर्यटन व्यवसायीबीच सम्पर्क स्थापना गर्ने, गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिबृद्धि गर्ने र ग्रामीण पर्यटन प्रवद्र्धनमार्फत प्रदेशको समृद्धिमा योगदान पुराउनेपनि होमस्टे मार्टको उद्देश्य रहेको उनको भनाई छ ।
होमस्टे मार्ट गाउँ पर्यटन प्रवद्र्धनसँगै त्यसको बजारीकरणको लागि एउटा माध्ययम बनोस् भन्ने उद्देश्यले आयोजना गरिएको सहआयोजक गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीकी अध्यक्ष शोभा सापकोटाले बताईन् ।
होमस्टे मार्टका लागि उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, होमस्टे फेडरेशन नेपाल (होफेन) गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्ले सहकार्य गरेको जनाइएको छ ।





