चेक अनादर (बाउन्स) मा प्रहरीलाई अधिकार (के के छन् नयाँ कानून)

-


     क्लिक गण्डकी     
     जेठ ६ गते २०८२ मा प्रकाशित


कानुन

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय

पोखरा, ५ जेठ/ सरकारले चेक अनादार सम्बन्धी नयाँ कानुनको व्यवस्था गरेका छ । नयाँ कानून अनुसार चेक अनादर (बाउन्स) कसुरसम्बन्धी मुद्दा जाहेरी दर्ता भएको ६ महिनाभित्र प्रहरीले अदालतमा लैजानु पर्ने व्यवस्था छ ।

चेक अनादर कसुरमा प्रहरीलाई अनुसन्धान गर्नेदेखि मुद्दा दायर गर्नेसम्मको अधिकार दिइएको छ । जसअनुसार प्रहरीले ६ महिनाभित्र अनुसन्धान सकेर अदालतमा मुद्दा चलाउनु पर्नेछ । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ मा संशोधन गरी चेक बाउन्सदेखि सजायसम्म नयाँ व्यवस्था गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार चेक अनादर मुद्दामा बिगो १५ लाख रुपैयाँसम्म भए एक महिनासम्म कैद, १५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म भए एक महिनादेखि तीन महिनासम्म, ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म भए तीन महिनादेखि एक वर्षसम्म, एक करोड रुपैयाँदेखि १० करोड रुपैयाँसम्म भए एक वर्षदेखि दुई वर्षसम्म र १० करोड रुपैयाँभन्दा बढी भए दुईदेखि चार वर्षसम्म कैद सजाय हुनेछ ।

ऐनमा संशोधनमार्फत गरिएको नयाँ व्यवस्था गत वैशाख २४ गतेको राजपत्रमा प्रकाशन गरिएको छ । नयाँ व्यवस्थाअनुसार चेक बाउन्ससम्बन्धी कसुरमा प्रहरीले मात्र अनुसन्धान गरी मुद्दा चलाउने छ । त्यसले गर्दा प्रहरी कार्यालयहरूमा बैकिङ कसुरका आरोपी र वादी–प्रतिवादीहको बाक्लो उपस्थिति हुनेछ । यसअघि सर्वसाधारणले सिधै अदालतमा मुद्दा दर्ता गर्न सक्ने व्यवस्था थियो ।

अब बैंकिङ कसुर ऐनअनुसार मुद्दा चल्ने भएकाले चेक बाउन्स भएको एक वर्षभित्र प्रहरीमा जाहेरी दर्ता गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । प्रहरीमा जाहेरी दर्ता भएको ६ महिनाभित्र अदालतमा मुद्दा दायर गर्नुपर्ने व्यवस्था गरिएको छ । चेकमा उल्लेख भएअनुसार खातामा पर्याप्त निक्षेप नभएमा अब बैंकले खाताधनीलाई ४५ दिनको समय दिएर पैसा जम्मा गर्न सूचना दिनुपर्ने व्यवस्था गरिएको छ ।