चट्याङ लागेर कास्कीमा २ जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     वैशाख १४ गते २०८२ मा प्रकाशित


चट्याङ

चट्याङ

पोखरा, १४ बैशाख/ कास्कीको अन्नपूर्ण गाउँपालिका–११, पोडेमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।

आइतबार दिउँसो परेका चट्याङले संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरतकुमार राई र १८ वर्षीय महेश राईको मृत्यु भएको हो ।

दिउँसो करिब १ बजेको समयमा परेको चट्याङले उनीहरूको ज्यान गएको कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले जानकारी दिए ।

उनीहरू करिब ३८ सय मिटर उचाइमा पदमार्ग बनाउने काम गरिरहेका थिए । सो स्थानमा आइतबारबाटै पदमार्ग विस्तारको काम सुरु भएको थियो, जसमा ९ जना मजदुरले काम गरेका थिए । अन्य ७ जना भने सकुशल रहेका छन् ।

मृतकहरूको शव निकाल्न प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पठाइएको डिएसपी शर्माले बताए ।

पानीसँगै परेको हिउँका कारण शव हिउँले पुरिएको अवस्थामा फेला परेको जनाइएको छ ।