
श्रम शोषण भएको भन्दै पोखराका डाक्टरहरु आन्दोलनमा
पोखरा, २४ चैत/ आफूहरू माथि श्रम शोषण भएको भन्दै पोखरामा डाक्टरहरू प्रदर्शनमा उत्रिएका छन् । पोखराका पृथ्वीचोकबाट शुरु भएको विरोध ¥याली पोखराको चिप्लेढुङ्गामा पुगेर विरोध सभामा परिणत भएको थियो ।
आफूहरू माथि श्रम शोषण भएको भन्दै पोखराका दुई मेडिकल कलेजका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । पोखराको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलानमा उत्रिएका हुन् । उनीहरुले पोखराका पृथ्वीचोकबाट विरोध ¥याली निकाले ।
डाक्टरहरूले चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएको, राजनीतिककरण उत्तिकै रहेको, आफुहरुको श्रम शोषण गरेको लगायत विभिन्न मागसहित विरोधमा उत्रिएको गण्डकी मेडिकल कलेजका डाक्टर रवि लामिछाने बताए ।
गत माघ २५ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।
बैठकले आवासीय चिकित्सकको समान सुविधा (मासिक ४८ हजार सात सय) कायम गर्नुपर्ने निर्णय गरेको हो । तर, आफूहरूले १८ हजार र १७ मात्रै पाएको भन्दै डाक्टर आन्दोलित भएका हुन् । उनीहरुले न्यूनतम तलब ४८ हजार पाएपछि मात्रै काममा फर्किने मणिपाल शिक्षण अस्पपतालका डाक्टर अमृत त्रिपाठीले बताए ।
‘स्वास्थ्य शिक्षा माथिको चरम व्यापारीकरण नियन्त्रण गर’, ‘पीजी सिटको कालोबजारी बन्द गर’, स्वास्थ्य शिक्षामाथि राजनीति बन्द गर, आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरे । गण्डकी मेडिकल कलेज र मणिपाल अस्पतालमा गरी १ सय ६० जना आवासिय डाक्टरहरु रहेका छन् ।
पोखरामा मात्रै नभएर देशभरका निजी मेडिकल कलेजहरुले श्रम शोषण गरेको उनीहरुको भनाई छ । देशका अरु मेडिकल कलेजका डाक्टरहरु पनि आन्दोलनमा उत्रिएका छन् ।