
पर्यटक बोलाउन लुजाउ पुगे पोखराका मेयर
लुजाउ, चीन ७ चैत/ पोखरामा पर्यटक बोलाउन महानगरको टोली चीनको सिचुवान प्रदेशको लुजाउ सहर पुगेको छ । पोखराको जस्तै प्रकृति भएको लुजाउन पुगेर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदमा सहकार्य गर्ने बताए ।
बिहीबार लुजाउ सहरले पोखरालाई भव्य स्वागत ग¥यो र आफ्नो सहरका विशेष क्षेत्रहरुको भ्रमण गरायो । दुई सहरबीच आपसी सहयोग आदानप्रदानबारे छलफल गरे । पोखराले लुजाउबाट प्रविधि र पर्यटकीय सहयोग माग्यो । लुजाउले पोखरासँग मिलेर प्राचिन औषधीसँगै पर्यटनमा काम गर्ने इच्छा देखायो । उनीहरुले आफ्नो मितेरी गाउँलाई नजिक बनाउनका लागि हवाई मार्ग प्रभावकारी हुने निष्कर्ष निकाल्दै पोखरादेखि छेङ्दु उडानलाई नियमित बनाउन पहल गर्ने बताए ।
पोखरा महानगरका मेयर धनराज आचार्य र लुजाउ सहरका मेयर तथा चिनियाँ कम्युनिष्ट पार्टी लुजाउका उपसचिव यु जिआनले भेटका क्रममा पर्यटन र संस्कृति, खेलकुद, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् । कार्यक्रममा पोखराका तर्फबाट मेयर आचार्यसँगै प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र वडा नम्बर २१ का अध्यक्ष दीपक सुवेदी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्षका कार्यसम्पादन समिति संयोजक गोपी भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी उपस्थित थिए ।
लुजाउका तर्फबाट मेयर जिआनसँगै साउथवेष्ट मेडिकल युनिभर्सिटीका अध्यक्ष हा ताओ, लुजाउका उपमेयर लुआ सुपिङ, महानगरका महासचिव लि झेन्जिआओ, संस्कृति, रेडियो, टिभी तथा पर्यटन विभागका निर्देशक लि लिङ, परराष्ट्र मामिला निर्देशक लिन यू र पार्टी कमिटी सचिव तथा साउथवेष्ट मेडिकल इन्भेष्टमेण्ट ग्रुपका अध्यक्ष लिन जिआन सहभागी थिए ।
पोखराका मेयर आचार्यले पोखरा र नेपालको पर्यटकीय गन्तब्यहरुबारे चिनियाँ मिडिया मार्फत प्रचार गराइदिन आग्रह गरेका छन् । लुजाउका मेयर जिआनले पोखराबारे धेरै सुनेपनि पुग्न नपाएको भन्दै छिटै पोखरा भ्रमण गर्ने बताएका छन् ।
दुई मेयरहरुले नेपाल र चीनको द्धौत्य सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनले नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको र पोखराले पोखरा भ्रमण वर्ष मनाइरहेका छन् । लुजाउ ५० लाख भन्दा बढी जनसंख्या भएको सहर हो ।
चीनकै उत्कृष्ट पर्यटन सहरको रुपमा स्थापित लुजाउले विश्वका २ वटा अन्तर्राष्ट्रिय सहरमा भगिनी सम्बन्ध कायम गरेको छ । यता पोखराको भने १२ वटा सहरसँग भगिनी सम्बन्ध छ । तिमध्ये ८ वटा सहर चीनकै छन् । मेयर आचार्यको टोलीले लुजाउको साउथवेष्ट मेडिकल युनिभर्सिटी, हुवावे सिचुआन विग डाटा सेण्टरको भ्रमण गरेको थियो ।