फागुन ९ गते पोखरामा राप्रपाको विरोध सभा, विमानस्थल भ्रष्ट्राचारको भण्डाफोर गर्ने

-


     क्लिक गण्डकी     
     फागुन ७ गते २०८१ मा प्रकाशित


फागुन ९ गते पोखरामा राप्रपाको विरोध सभा, विमानस्थल भ्रष्ट्राचारको भण्डाफोर गर्ने

फागुन ९ गते पोखरामा राप्रपाको विरोध सभा, विमानस्थल भ्रष्ट्राचारको भण्डाफोर गर्ने

पोखरा, ७ फागुन/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशले फागुन ९ गते पोखरामा विरोध सभा कार्यक्रम गर्दैछ । केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा राप्रपाले पोखरामा विरोध सभा गर्न लागेको हो । नविन समझदारीमार्फत मुलुकलाई निकास दिने उद्देश्यले विरोध सभा आयोजना गरिएको राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए ।

पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष गुरुङले भ्रष्ट्राचार र कुशासनको भण्डारफोर गर्न विरोध सभा आयोजना गरिएको बताए । ‘हामीले ४२ बुँदै ज्ञापनपत्र बुझायौं । प्रधानमन्त्रीदेखि स्थानीय तह, जिल्लामा गएर ज्ञापनपत्र बुझाइसकेका छौं । तर, ज्ञापनपत्रको कुनै सुनुवाई नै भएन । यो ट्रेन्ड नै जस्तो लाग्यो,’ उनले भने, ‘जबसम्म ढुंग्गामुढा गर्दैन, टायर बाल्दैन तबसम्म सरकारले कान नसुन्ने रैछ, आँखा नदेख्खो रैछ की भनेर हामी अगाडी बढेको हो ।’

उनले थपे, ‘होइन भने राप्रपाले हिंसाको राजनीति, द्धन्द्धको राजनीतिमा कहिल्यै पनि विश्वास गर्दैन भन्ने कुरा स्पष्ट पार्न चाहन्छु ।’ कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार लगायत गण्डकी प्रदेशभित्रका साबैखाले भ्रष्टाचारको भण्डाफोर गर्ने तयारी रहेको प्रदेश अध्यक्ष गुरुङले बताए ।

राप्रपाले संवैधानिक राजसंस्थाको पुनःस्थापनादेखि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक सांसद र संघीयता खारेज जस्ता विषयलाई प्रमुख एजेण्डा बनाएको छ ।

पूर्ण समानुपातिक सांसद बनाउने र सांसद मन्त्री बन्न नपाउने र विज्ञबाट मन्त्री बनाउने, सनातन हिन्दु अधिराज्य, भ्रष्ट्राचार, विभेद अन्त्य जस्ता एजेण्डा राप्रपाले अघि राखेको छ ।

विरोध सभा शुक्रबार पोखरा चिप्लेढुंगामा हुनेछ । पृथ्वीचोकबाट ¥याली गर्दै चिप्लेढुंगामा गएर विरोध सभा गरिने राप्रपा प्रदेश अध्यक्ष गुरुङले जानकारी दिए । राप्रपाले बोकेको एजेण्डा प्रमाणित हुँदै गएको उनले बताए ।

राप्रपाबाट गण्डकी प्रदेश सभा सांसद बनेकी विन्दु अधिकारी पौडेलले प्रदेशमा रोजीरोजी मन्त्रालय दिँदासमेत आफु मन्त्रीहरु मन्त्री नभएको दाबी गरिन् ।

‘राप्रपाले दिगो सरकारका लागि मत दियौं । रोजीरोजी मन्त्री दिँदा हामी मन्त्री भएनौं,’ उनले भनिन्, ‘राप्रपा देशका लागि सोचेर हामीले पाउने पद त्याग गरेका छौं ।’ पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामै भएको बेला राप्रपाको कार्यक्रम हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।