
टाइगर कप भलिबलः सोमबार देखी लिग चरणका खेल हुने
पोखरा, १३ माघ/ एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिता आइतबार चार खेल भएका छन् । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र भारतको सुनिल भलिबल क्लब विजयी शुरुवात गर्दा महिला तर्फ आयोजक विजयी भएको छ ।
अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल एपिएफलाई सोझो सेटमा पराजित ग¥यो । आर्मीले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै बिजयी शुरुवात गरेको हो ।
यसअघि भएको खेलमा नेपाल पुलिस क्लबले गण्डकीलाई ३–२ सेटमा पराजित गरेको थियो । पहिला दुई सेट गुमाएको गण्डकीले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपनि पाँचौं सेट सम्म खेल पुगेको थियो ।
पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । गण्डकीले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१४ ले जितेको थियोे । पाँचौं सेटमा गण्डकीले सुरुआती अग्रता जोगाउन नसक्दा खेल १५–१० ले गुमाउनु प¥यो ।
यस्तै पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गरेको थियो । पहिलो सेट २२–२५ ले गुमाएको सुनिल क्लबले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरामगन गर्दै विजयी सुरुआत गरेको हो । सुनिल क्लबले दोस्रो सेट २५–२३, तेस्रो २७–२५ र चौथो सेटमा २५–१६ ले आफ्नो पक्षमा पारेको हो ।
महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । आयोजक टोलीले आर्मीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–११ र तेस्रो सेट २५–२१ ले पराजित ग¥यो ।
प्रतियोगितामा सोमबार देखी लिग चरणका खेलहरु हुनेछन् । पहिलो खेलमा जित निकाल्ने टोली र पराजित हुने टोलीले छुट्टाछुट्टै लिग खेल्नेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।





