
पोखरा, ३ माघ/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउदै छन् । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिन÷मास्टर अफ सर्जरी’ (एमडी÷एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने छन् ।
मेडिकल विज्ञान संकाय पोस्टग्राजुएट प्रथम र दोस्रो व्याचका क्रमश १७ र २६ विद्यार्थी दीक्षित हुनेछन् । प्रतिष्ठानले २०७६ फागुनवाट शैक्षिक कार्यक्रम सुरु गरेको थियो ।
स्नातकोत्तर तहमा शल्यचिकित्सा, मेडिसिन, बालस्वास्थ्य, स्त्री तथा प्रसूतिरोग, हाडजोनौ र एनेस्थेसिया गरी ६ विधाका १७ विद्यार्थीबाट पढाइ सुरु गरेको हो । प्रतिष्ठानले दोस्रो शैक्षिक सत्रमा अघिल्ला शैक्षिक सत्रमा सञ्चालित ६ कार्यक्रमका साथै रेडियोलोजी गरी ७ वटा विधाका २६ जना विद्यार्थी लिएर पढाएको थियो ।
अहिले प्रतिष्ठानमा शल्यचिकित्सा, मेडिसिन, बालस्वास्थ्य, स्त्री तथा प्रसूतीरोग, हाडजोर्नी, एनेस्थेसिया र रेडियोलोजी, नाक कान घाँटी तथा प्याथोलोजी गरी ३ शैक्षिक सत्रमा ९२ जना आवासीय विद्यार्थी छन् ।
६ विधाका १७ विद्यार्थीबाट पढाइ थालेको प्रतिष्ठानमा हाल स्नातकोत्तर र स्नातक तहमा २ सय ५९ विद्यार्थी छन् ।
साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना एवं स्वास्थ्य सेवाको सुदृढ जगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम प्रतिष्ठान स्थापना भएको थियो ।
चिकित्सा शिक्षासँग सम्बन्धित जनशक्ति उत्पादन र सेवाग्राहीको उपचारलाई प्रभावकारी रूपमा अघि बढाउन प्रयत्नशील प्रतिष्ठानले पहिलो दीक्षान्त समारोह गर्न लागेको हो।