
पोखरामा ठगीको अभियोगमा पोखराका सोनीक क्षेत्री र अछामका जगत डोली पक्राउ
पोखरा, २२ पुस/ कास्की प्रहरीले पोखरा राईडर्स क्लबका अध्यक्ष सोनीक क्षेत्री र जगत डोलीलाई ठगीको अभियोगमा पक्राउ गरेको छ ।
गत बर्षको चैत २३ र २४ गते पोखरा राईडर्स क्लबको नामबाट आयोजना गरिएको “पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीप–२०२४” मा सहभागी खेलाडी र बिजेताहरु मध्ये केहि ठगिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पोखरा राईडर्स क्लबले पोखराको बाम्दीमा संचालन गरेको “पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीप–२०२४” खेलमा प्रत्येक खेलाडीबाट दर्ता शुल्क बापत भन्दै १७ हजार रुपैया संकलन गरेको र प्रतियोगी खेलाडीहरु मध्ये प्रथम हुने खेलाडीलाई एक लाख ५० हजार रुपैया पुरस्कार दिने भनिएकोमा बिजेतालाई पुरस्कारको रकम समेत नदिई सम्पर्क बिहिन भएपछि क्षेत्री र डोली बिरुद्द प्रहरीमा उजुरी परेको थियो ।
पिडितको जाहेरी पश्चात पुष २१ गते उनीहरु दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त खेलका संचालक तथा निर्देशक रहेका अछाम जिल्लाको सिउडी गाउँपालिका –१ घर भई हाल पोखरा महानगरपालिका –६ जरेबर बस्ने ३१ बर्षीय जगत डोली र पोखरा राईडर्स क्लबका अध्यक्ष रहेका कास्की जिल्लाको पोखरा महानगरपालिका– ५ प्रस्याङ बस्ने २९ बर्षका सोनिक क्षेत्रीलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ।
दुवै जनालाई कास्की जिल्ला अदालतबाट ठगि सम्बन्धि कसुरमा सात दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाईएको बुझिएको छ ।







