
बुद्ध एयरको अनाहकमा ईमर्जेन्सी ढोका खोल्दा यात्रुलाई तिराइएको क्षतिपूर्ति रकम वृद्धाश्रमलाई
पोखरा, १९ पुस/ बुद्ध एयरले पोखरामा रहेको पोखरा वृद्धाश्रमलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । त्यसै गरी जनकपुरस्थित महागंगा आरती गंगासागरलाई पनि १ लाख सहयोग गरेको बुद्ध एयरले जनाएको छ ।
उड्ने तरखरमा रहेका जहाजको इमर्जेन्सी ढोका खोल्ने दुई यात्रुले तिरेको क्षतिपूर्ति रकमलाई दुई संस्थालाई सहयोग गरिएको बुद्ध एयरले जनाएको छ ।
बुद्ध एयरका पोखरा स्टेशन प्रमुख गौतम बरालले पोखराको सितापाइलास्थित पोखरा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकको सहयोगका लागि रकम हस्तान्तरण गरे ।
यस्तै, बुद्धका जनकपुर स्टेशन प्रमुख विजयप्रसाद सिंहले जनकपुरस्थित महागंगा आरती गंगासागरलाई हस्तान्तरण गरे । बुधबार पोखराबाट काठमाडौं उड्ने तरखरमा रहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले बिनाकारण इमर्जेन्सी ढोका खोलेका थिए ।
पोखराबाट काठमाडौं (उडान संख्या ६१८) को उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा जहाजको इमरजेन्सी ढोका खोलेका थिए । टेक्निकल टिमको परीक्षणपछि करिब ३ घण्टा ढिलो साँझ ६ः४० मा काठमाडौका लागि उक्त जहाज उडेको थियो ।
यसैगरि काठमाडौंबाट जनकपुरका लागि अक्टोबर १० का दिन बिहान ६ः०५ मा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो । जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले जहाजको इमर्जेन्सी ढोका खोलेका थिए ।
उक्त घटनापछि चालक दलले जहाज पार्किङ–वेमै फर्काएका थिए । जहाजको प्राविधिक जाँचका लागि काठमाडौंबाट टेक्निकल टिम गई सम्पूर्ण चेकजाँचपछि दिउँसो १ बजे जनकपुर अवतरण गरेको थियो । यसबाट उडान प्रक्रिया अवरुद्ध भई त्यस दिनको उडान तालिका निकै प्रभावित बनेको थियो ।
अनाहकमा इमरजेन्सी ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाइने गरिएको छ । यात्रुले अब उप्रान्त यस्तो कार्य नगर्ने शर्तमा क्रमश १ लाख क्षतिपूर्ति तिराइएको थियो ।
आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् । आपतकालीन अवस्थामा बाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पु¥याउँछ ।
हवाई उडानमा खलल पु¥याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ ।
बुद्ध एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको छ । विमान कम्पनीले उडान सुरक्षामा अनाहक खलल पु¥याउने यात्रुलाई उडानमा थप प्रतिबन्ध लगाउँछन् ।
बुध्द एयरले अनाकहमा इमरजेन्सी ढोका खोल्ने यात्रुबाट क्षतिपूर्ति रकम १ लाख रुपैयाँ तिराई तिनै गन्तव्यका परोपकारी संस्थालाई सहयोग गर्ने बताएको छ ।





