रविलाई सम्पत्ति शुद्धीकरण सहित ३ मुद्दा, निकिता पनि प्रतिबादी

-


     क्लिक गण्डकी     
     पौष ७ गते २०८१ मा प्रकाशित


रवि लामिछाने

रवि लामिछाने

पोखरा, ७ पुस/ पूर्व उपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा विभिन्न ३ मुद्दा दायर भएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ मुद्दामा सजाय र बिगो माग दाबी गर्दै अभियोगपत्र दायर भएको छ । लामिछानेलाई सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

त्यस्तै, गोर्खा मिडियामा उनका साझेदार छविलाल जोशीलाई सम्पत्ति शुद्धीकरण मात्र ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबी गरिएको छ । लामिछानेलाई फरक–फरक मुद्दामा फरक–फरक बिगो माग दाबी गरेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सूचना अधिकारी सहन्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आइतबार कास्की जिल्ला अदालतमा रवि समेत ३१ जनालाई प्रतिवादी बनाएर पूरक अभियोगपत्र दायर गरेको हो । तीमध्ये केही कम्पनि पनि छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतका मुद्दामा थप ४४ जनालाई प्रतिवादी बनाएर कुल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरिएको हो । सूर्यदर्शन सहकारी ठगी मुद्दामा यसअघि १९ जनालाई प्रतिवादी बनाएर गत वर्ष १८ असोजमा दायर गरिएको मुद्दामा शुक्रबार थप दाबी, थप कसूर र थप संलग्नता सहित अभियोगपत्र दायर भइसकेको छ । आइतबार दायर पूरक अभियोगसहित कुल ६३ जना प्रतिवादी पुगेका छन् ।

सहन्यायाधिवक्ता शर्माका अनुसार सहकारी ठगीमा ३१ जना, संगठित अपराधमा १९ जना र सम्पत्ति शुद्धीकरणमा ४ जनालाई प्रतिवादी बनाइएको छ । विभिन्न ८ वटा कम्पनी विरुद्ध पनि मुद्दा दायर छ । ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने भन्दै मुद्दा दायर छ ।

निकिता पनि प्रतिबादी

सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेललाई पनि प्रतिवादी कायम गरिएको छ ।

पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । सम्पत्ति जफत प्रयोजनको लागि उनीसहित ५ जनालाई प्रतिवादी कायम गरिएको छ ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पौडेललाई पनि प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले जानकारी दिइन् ।

रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछाने विरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अदालतमा अभियोग पत्र दर्ता काफ्लेले बताइन् ।