
पोखराको बाम्दीमा भएको क्बलस्तरीय महिला भलिबलको उपाधि धादिङ स्पोर्टस्लाई
पोखरा, १ पुस / पोखरा महानगरपालिका २३ वाम्दीमा भएको क्लबस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि धादिङ स्पोर्टस् क्लब, धादिङले जितेको छ ।
धादिङ स्पोर्टस् क्लबले शान्त भलिबल टे«निङग सेन्टर, झकुण्डे पोखरालाई ३–० को सोझो सेटमा हराउदै उपाधि जितेको हो । जित सँगै धादिङले नगद १ लाख रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको शान्त भलिबलले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा धादिङकी रिमा कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै धादिङकै आशिका क्षेत्री उत्कृष्ट स्पाइकर, रिता बोहोरा उत्कृष्ट सेटर, रस्मीता दुरा उत्कृष्ट डिफेन्डर र विरु लामा उत्कृष्ट कोच घोषित भइन् । शान्त भलिबलका श्रृष्टी खत्री र अन्जना खड्का क्रमश उत्कृष्ट सर्भर र उत्कृष्ट मिडफिल्डर घोषित भए । सात विधामा उत्कृष्ट धोषित भएकाले १/१ थान भलिबल पुरस्कार पाए ।
सेमिफाइनलमा धादिङले गुरुकुल विद्या सदन, नयाँबजार पोखरालाई हराएर फाइनल यात्रा तय गरेको थियो । भने शान्त भलिबलले एलिट भलिबल एकेडेमी, पोखरालाई हराएर फाइनलमा पुगेको थियो । सेमिफाइनलबाट बाहिरिएका गुरुकुल र एलिटले नगद १५/१५ हजार पुरस्कार पाए ।
नकआउट सिस्टमका आधारमा खेलाइएको खेलमा १० टिमको सहभागिता रहेको थियो । विजयी खेलाडीलाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, प्रदेश सभा सदस्य भक्तबहादुर कुँवर, पोखरा महानगरपालिका २३ का कार्यवाहक अध्यक्ष चेतबहादुर क्षेत्री, चापाकोट पर्यटन प्रवद्र्धन समिति अध्यक्ष भिम पराजुली लगायत पुरस्कार वितरण गरे ।





