प्रतिभा माविमा ‘व्यावसायिक योजना’ को प्रतिश्पर्धा

-


     क्लिक गण्डकी     
     मंसिर २६ गते २०८१ मा प्रकाशित


प्रतिभा माविमा ‘व्यावसायिक योजना’ को प्रतिश्पर्धा

प्रतिभा माविमा ‘व्यावसायिक योजना’ को प्रतिश्पर्धा

पोखरा, २६ मंसिर/ विद्यार्थीमा व्यावसायिक भावना विकास गराउने उद्देश्यले पोखराको प्रतिभा माविमा ‘व्यावसायिक योजना’ सम्बन्धि प्रतिश्पर्धा गराइएको छ । कक्षा ११ र १२ का व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीले ‘बिजनेस प्लान प्रेजेन्टेसन’ सम्बन्धि उक्त प्रतिश्पर्धामा भाग लिएका थिए ।

विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार उक्त प्रतिश्पर्धामा २३ समूहले भाग लिएका थिए । ती मध्ये केही व्यक्तिगत सहभागिता पनि थिए । कार्यक्रमको केसी ग्रुपका निर्देशक किरण केसी, विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले उद्घाटन गरेका थिए ।

प्राचार्य सापकोटाले विद्यार्थीमा व्यावसायिक भावना विकास गराउने उद्देश्यले प्रतिश्पर्धा आयोजना गरिएको बताए । यो प्रतिश्पर्धाले विद्यार्थीमा भविश्यमा व्यावसायिक सोच विकास हुने उनले बताए ।

‘नयाँ व्यावसायिक सोच विद्यार्थीमा विकास गराउनका लागि यो प्रतिश्पर्धा आयोजना भएको हो । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमा भएको व्यावसायिक सोचलाई बाहिर ल्याउन पनि यसले सघाउँछ,’ उनले भने, ‘विद्यार्थीले व्यावसायिक क्षेत्रलाई कुन रुपमा बुझेका छन् भन्नेमा पनि यसले स्पष्ट पार्नेछ ।’ विद्यालयले हरेक वर्ष दसै र तिहारको बिदाको बेला पारेर विद्यार्थीलाई यो प्रतिश्पर्धाका लागि तयारी गर्न लगाउने गरेको छ । त्यही तयारीलाई प्रस्तुत गर्ने उनले बताए ।

विगत तीनवर्षदेखि नियमित रुपमा भईरहेको यो तेश्रो आयोजना हो । विद्यार्थीले तयार पारेका व्यावसायिक योजनामध्ये उत्कृष्ट योजना छनोट गर्ने र १२ कक्षापछि व्यावहारिक रुपमा उपयोग गरेमा विद्यालयले पाँचलाख रुपैयाँको बिउँपूँजी पनि दिने उनले बताए । ‘उत्कृष्ट व्यावसायिक योजनालाई वास्तविकतामा प्रस्तुत गरेर देखाएमा विद्यालयले पाँचलाख रुपैयाँको बिउँपूँजी पनि उपलब्ध गराउँछ,’ सापकोटाले भने, ‘यसले विद्यार्थीलाई थोरै भएपनि व्यावसायिक बन्न सघाउनेछ ।’

विद्यालयले विद्यार्थीमा रहेको क्षमता बाहिर ल्याउन विज्ञान विषयका विद्यार्थीका लागि बिज्ञान प्रदर्शनी, व्यवस्थापनका विद्यार्थीका लागि व्यवासायिक योजना प्रस्तुती र होटल व्यवस्थापनका विद्यार्थीका लागि फूड फेस्टिभल पनि आयोजना गर्ने गरेको छ । ‘युवाहरुको व्यवसायिक सोँचलाई वास्तविकतामा परिणत गरेर भविश्यमा रोजगारी सिर्जना गर्न सकिन्छ,’ उनले भने, ‘विद्यार्थीलाई केही गरौं भन्ने भावना पनि विकास हुन्छ ।’ विद्यार्थीले प्रस्तुत गरेको योजनामध्ये उत्कृष्ट तीनवटा योजनालाई पुरस्कृत गरिने पनि उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि केसी ग्रुपका निर्देशक किरण केसीले कसैले पनि आफुलाई कमजोर नसोची अघि बढेमा सफलता हात पार्ने बताए । जीवनकालमा सिकेका धेरै कुराले मान्छेलाई व्यवहारिक बन्न सघाउने उनले बताए । ‘हरेक टर्निङ प्वाइन्ट’ बाट केही न केही सिकाई सिक्न सकिन्छ,’ उनले भने, ‘व्यवसाय गर्न चूनौती रहेपनि ती चूनौतीलाई चिर्दै अघि बढेमा सफलता हात पर्नेछ ।’ केसी समूहका व्यावसायिक यात्राबारे जानकारी दिँदै केसीले अप्ठेराका बाबजुत अघि बढ्दा बल्ल सफलता पाएको बताए ।

विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीमा नयाँ व्यवासायिक सोचाई विकास गर्न यस्ता कार्यक्रम आवश्यक पर्ने बताए । व्यावसायिक क्षेत्रमा रहेका चूनौतीबारे पनि विद्यार्थीले यस्ता कार्यक्रममार्फत थाहा पाउने उनले बताए । ‘हामीले देखे भन्दा फरक व्यावसायिक क्षेत्र पनि विद्यार्थीले पहिचान गर्ने गरेका छन । कतिपयका लागि त्यही क्षेत्र नै भविश्यको गन्तव्य हुन्छ,’ उनले भने । पौडेलले विद्यार्थीमा रहेको व्यावसायिक चेत विकास गराउनका लागि विद्यालयले हरेक वर्ष कार्यक्रम गर्दै आएको पनि बताए ।

प्रतिश्पर्धा गरेका विद्यार्थीले कृषिदेखि घरेलु उत्पादनलाई समेत योजना बनाएर त्यस अवसरमा प्रस्तुत गरेका थिए । निर्णायक समितिको नेतृत्व गरेर प्राध्यापक जसबहादुर गुरुङले विद्यालय तहबाटै विद्यार्थीमा व्यावसायिक चेतना विकास हुनु सकारात्मक रहेको बताए ।

विश्वविद्यालय तहमा मात्र नभई विद्यालय तहमै यस्ता गतिविधि आवश्यक रहेको उनले बताए । उक्त कार्यक्रमको निर्णायकमा गुरुङ सहित स्याङजाको वालिङस्थित वाई सेन्टरका प्रमुख कार्यकारी दिनकर नेपाल र उद्यमी सन्ध्या पौडेल थिए । विद्यार्थीले गरेको प्रस्तुतीलाई विभिन्न नौवटा आधारमा निर्णायक समितिका सदस्यले मुल्यांकन गरेका थिए ।