
फिस्टेल लज, सराङकोट माउन्टेन र होटल पौवालाई स्वच्छतामा थ्री स्टार
पोखरा, १९ मंसिर/ पोखराका तीन होटललाई होटल तथा रेष्टुेण्टको स्वच्छता मूल्यांकन गरी थ्री स्टार प्रदान गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले पोखराको होटल तथा रेष्टुरेण्टको स्वच्छता मूल्यांकन गरी स्तरीकरण गर्दा पोखराको होटल पौवा पोखरा प्रा.लि, फिस्टेल लज र सराङकोट माउन्टेन एण्ड स्पाले थ्री स्टार अति उत्तमको हरियो स्टीकर प्राप्त गरेका हुन । त्यसैगरी होटल बाराही र होटल आवास प्रालिले टु स्टार उत्तम स्टीकर प्राप्त गरेका छन् ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख नवराज दाहाल लगायतले अति उत्तम र उत्तम स्टीकर, प्रमाण पत्रसँगै प्रतिवद्धता पत्र वितरण गरे ।
कार्यक्रममा होटल संघ पोखराका अध्यक्ष सुवेदीले पर्यटनको राजधानीमा होटल तथा रेष्टुरेन्ट वर्गीकरण अत्वश्यक रहेको बताउदै स्टीकर प्रदान गरी रेष्टुरेण्ट तथा होटलको गुणस्तर मापन गर्ने यस प्रकारको कार्यक्रमले पर्यटक विश्वस्त हुने बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले खाद्य शुद्धता मापनका लागि ६ वटा होटलको आवेदन परेको र त्यसमध्ये ५ वटा होटलहरु स्तरमा मापन भएको बताए ।
गत असोजमा पोखराका ६५ हाराहारीमा होटल तथा रेष्टुरेन्टलाई यसबारे अभिमुखीकरण तालिम दिए पनि ५ वटाले मात्र निवेदन दिएपछि मंगलबार लोगो वितरण गरिएको उनले जानकारी दिए ।
वर्गीकरणका लागि ५० प्रश्न सोधिन्छ । प्रश्नोत्तर आधारमा अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य वर्गीकरण गरिने कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले जानकारी दिए ।
अति उत्तमको वर्गीकरणमा पर्न तोकिएको मापदण्ड बमोजिम ९० भन्दा बढी अंक प्राप्त गर्नुपर्छ । प्रश्नका साथमा खानाको गुणस्तर, खाना बनाउन प्रयोग गरिने तेल लगायत सामग्री के कस्तो प्रयोग छ भन्ने जाँच गरेर मूल्यांकन गरिएको कुँवरले बताए ।





