पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको एयर बस ३२० । तस्बिरः दिनेश शर्मा मरासैनी
पोखरा, १२ मंसिर/ हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तिब्बतको ल्हासा विमानस्थलमा नियमित उडान गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिमालय एयरलाइन्सले डिसेम्बर भित्रै पोखरालाई ल्हासासँग जोड्ने गरी उडान गर्न लागेको हो ।
ल्हासाको गोंगार विमानस्थलले स्लटको अनुमति दिनासाथ उडान गर्नेगरी हिमालयले प्राधिकरणबाट अनुमति मागेको छ । ल्हासाको विमानस्थलबाट अनुमति पाएसँगै पोखरा विमानस्थलमा नियमित व्यावसायिक उडान सुरु हुनेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ को पुसदेखि सञ्चालनमा आएपनि चार्टर उडान बाहेक अन्य अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
हिमालयले हरेक साताको सोमबार काठमाडौंबाट ल्हासा उडान गर्ने र ल्हासाबाट पोखरा आउने छ । सोमबार हिमालयको जहाज पोखरामा नै बस्ने छ ।
मंगलबार पोखराबाट ल्हासा उडान गर्ने र ल्हासाबाट काठमाडौं फर्कने गरी उडान तालिका प्राधिकरणमा पठाएको छ । यसैगरी हिमालयले बुधबार र शुक्रबार भने काठमाडौं–ल्हासा–काठमाडौं उडानका लागि अनुमति मागेको छ ।