
पोखरामा राष्ट्रिय कर सप्ताह, उत्कृष्ट करदातालाई सम्मान
पोखरा, ७ मंसिर/ आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्ताहव्यापी रुपमा मनाएको छ । समापन कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पर्यटन प्रर्वद्धनमा स्थानीय प्रशासनले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले पोखरा पर्यटकीय क्षेत्र भएकोले यसको विकासमा निजि क्षेत्रसँग सहकार्य गर्ने समेत बताए । कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले सेवा प्रवाहलाई थप सहज बनाउँदै करको दायरा विस्तार गर्दै लगिने बताए ।
उनले आर्थिक ऐन, २०८१ ले दिएका विभिन्न छुट सुविधाको लाभ लिनका लागी अनुरोध गरे । छुट सुविधा सधै नआउने भएकाले फागुनभित्र सुविधा लिन आग्रह समेत गरे ।
आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता टेम्पल ट्रि रिसोर्ट प्रा.लीलाई सम्मान गरेको छ । टेम्पल ट्रि रिसोर्ट प्रा.लीले आर्थिक वर्ष २०७९/०८० मा १ करोड ९७ लाख ७३ हजार ७ सय ८७ रूपैयाँ राजस्व दाखिला गरेको छ ।
यसैगरी कार्यक्रममा करदाता सेवा कार्यालय स्याङ्जा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता खिलुङ कालिका कन्ट्रक्सन प्रा.ली लाई सम्मान गरिएको छ ।
उद्योग व्यापार, लगानी प्रर्वद्धन र कर सचेतना सम्बन्धी विषयमा आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा द्धितिय हुने गण्डकी बोर्डिङ स्कुल कक्षा ११ मा अध्यनरत छात्रा आत्मिका सुवेदीलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका उत्कृष्ट कर्मचारी नायब सब्बा हरिश्चन्द्र पौडेललाई सम्मान गरिएको छ । यस्तै, करदाता सेवा कार्यालय पुतलीबजार स्याङ्जाका नायव सुव्वा देवश्री त्रिपाठीलाई सम्मान गरिएको थियो ।





