
गण्डकी प्रदेश सभाबाट सांसद विमला गौचनको शवमा नेपालको झण्डा ओडाउदै गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तस्बिरः बल मगर
पोखरा, १ मंसिर/ गण्डकी प्रदेशकी सांसद विमला गौचनको शवमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गर्दै गण्डकी प्रदेश सभामा अन्तिम बिदाइ गरिएको छ । गत २८ गते ग्राण्डी अस्पतालमा ह्दय घातका कारण निधन भएकी गौचनको शव गण्डकी प्रदेश प्रांगणमा राखिएको थियो ।
गण्डकी प्रदेश सभा सचिवालयले उनको श्रद्धाञ्जली कार्यक्रम राखेको हो । उनको अन्तिम बिदाइमा मुख्यमन्त्री, मन्त्री, सांसद, सर्वसाधारण र आफन्तले श्रद्धाञ्जली दिए ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।
कांग्रेस गण्डकी सभापति शुक्रराजले पार्टीको झन्डा ओढाए । अघिल्लो महिना दामोदर कुण्ड जाँदा लेक लागेर बिरामी परेकी गौचनलाई पछिल्लो पटक डेंगु संक्रमण भएको थियो ।
स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई ग्रान्डी पु¥याइएको थियो । २०१८ सालमा मुस्ताङको कोबाङमा जन्मिएकी गौचन महिला संघ म्याग्दीको अध्यक्ष पनि भएकी थिइन् । उनी होटल व्यवसायमा आवद्ध थिइन् । उनका छोरा रोशन र छोरी अनुस्का छन् ।
उनी नेपाली कांग्रेसका तर्फबाट विसं २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित भएकी थिइन् । उनी प्रदेशसभा अर्थ तथा विकास समितिको सदस्य थिइन् । गौचनको म्याग्दीमा आजै दाहसंस्कार गरेको परिवारजनले जनाएको छ ।





