पोखरा महानगरमा विशेष नगर सभा बोलाउन एमालेको माग

-


     क्लिक गण्डकी     
     कार्तिक २९ गते २०८१ मा प्रकाशित


पोखरा महानगरमा विशेष नगर सभा बोलाउन एमालेको माग

पोखरा महानगरमा विशेष नगर सभा बोलाउन एमालेको माग

पोखरा, २९ कात्तिक/ पोखरा महानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विशेष नगर सभा बोलाउन माग गरेका छन् ।

महानगरको संस्थागत सुशासन र विधिको शासन कायम गर्न वान्छनीय भएको र तत्काल नगर सभा सञ्चालन रहेकोले र विभिन्न प्रस्तावमा छलफल गरी निर्णय गर्नुपर्ने भएको भन्दै एमालेबाट निर्वाचित ८७ जनप्रतिनिधिले विशेष अधिवेशनको माग गरेका हुन् । नगर सभामा १ सय ७० जना सदस्य छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ३ एवम् पोखरा महानगर नगर सभा सञ्चालन कार्यविधि २०७४ को दफा ३ उपदफा ३ बमोजिम एमालेले विशेष नगर सभा आह्वान गर्न माग गरेको हो ।

सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ३ मा सभाका एकतिहाइ सदस्यले सभाको बैठक बोलाउन आवश्यक छ भनी अध्यक्ष वा प्रमुखसमक्ष विषय कारण खुलाई लिखित अनुरोध गरेमा १५ दिनभित्र अध्यक्ष वा प्रमुखले सभाको विशेष अधिवेशन बोलाउनुपर्ने प्रावधान छ ।

सोही व्यवस्थाअनुसार नगर प्रमुख धनराज आचार्यले अबको १५ दिनभित्र नगर सभा बोलाउनुपर्ने हुन्छ । नगर प्रमुख आचार्यले कानुनी प्रक्रिया बुझेर अघि बढ्ने बताए ।

महानगरपालिकाको स्थायी दरवन्दी कायम हुने गरी स्वीकृत गर्ने, संगठन तथा व्यवस्थापन सर्वेक्षण, समिति गठन गरी पूर्ण प्रतिवेदन आगामी नगर सभामा पेश गर्ने र स्थायी पदपूर्ति नभएसम्म हाल करार ज्यालादारीमा कार्यरत रहेका सम्पूर्ण कर्मचारीहरुको करार सम्झौता नवीकरण गर्ने, ३७ औ नगर कार्यपालिकाको बैठकका निर्णय खारेज गर्ने २५ औं नगर कार्यपालिको बैठकको कर्मचारी व्यवस्थापन सम्बन्धमा भएका निर्णय पूर्ण कार्यन्वयन गर्ने एवम् स्वीकृत दरवन्दी संरचनामा नपरेका कर्मचारीलाई पदाधिकार रहेकै कार्यालयमा काज फिर्ता गर्ने जस्ता प्रस्ताव एमालेले गरेको छ ।

यस्तै एमालेले महानगरमा कामकाज सरुवा भई आएका कर्मचारीको सेवा सुविधाको दायित्व यस महानगरपालिकाले नलिने, वित्तीय सुशासन कायम गर्ने र महानगरका गौरवका आयोजनाका रुपमा स्वीकृत गरी कार्यान्वयनमा लैजाने प्रस्ताव गरेको छ ।



Tags: