चितवन माइक्रोबस दुर्घटनाः ट्रेकिङ गरेर फर्किएका शिक्षक दम्पतीको ज्यान गयो

-


     क्लिक गण्डकी     
     कार्तिक २५ गते २०८१ मा प्रकाशित


चितवन माइक्रोबस दुर्घटनाः ट्रेकिङ गरेर फर्किएका शिक्षक दम्पतीको ज्यान गयो

चितवन माइक्रोबस दुर्घटनाः ट्रेकिङ गरेर फर्किएका शिक्षक दम्पतीको ज्यान गयो

पोखरा, २६ कात्तिक/ चितवन माइक्रोबस दुर्घटनामा परेर नवलपुरका शिक्षक दम्पतीको निधन भएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–४ बगैँचाका ३५ वर्षिय सन्तोष भुषाल र उनकी श्रीमती ३३ वर्षिय सविना भुषालको नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा शुक्रबार बिहान भएको दुर्घटनामा परेर ज्यान गुमाएका हुन् ।

विराटनगरबाट काठमाडौं जाँदै गरेको बा प्र ०३–००१ ख २८१२ नम्बरको बस र पोखराबाट नारायणगढतर्फ जादै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको उनीहरू सवार इलेक्ट्रिक माइक्रो भ्यान ठक्कर खाँदा भुषाल दम्पती सहित अन्य ३ जनाले ज्यान गुमाए । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा ज्यान गएको हो ।

भुषाल दम्पति तिहार मनाएर मर्दी हिमालमा ट्रेकिङ गएका थिए । उनिहरू ट्रेकिङ सकाएर माइक्रोमा घर फर्कदै गर्दा दुर्घटनामा परेका हुन ।

मृतक दुवैजना शिक्षक हुन् र उनिहरू सोही वडामा रहेको मणिसिद्ध आधारभूत विद्यालय, धर्साहमा कार्यरत थिए । सन्तोष राहत कोटाको शिक्षकको रुपमा कार्यरत थिए भने सबिना करार शिक्षक थिइन् । उनिहरुका ९ वर्षका एक छोरी र ५ वर्षका एक छोरा छन् ।

मृत्यु हुनेमा भुषाल दम्पतीसहित गोरखाको आरुघाट गाउँपालिका १ मान्बुका ४२ वर्षिय राज बहादुर गुरुङ, माईक्रोबस चालक चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ का ४० वर्षिय अनोज अधिकारी र भारत घर भई पोखरामा किसाना पसल गर्दै आएका ३६ वर्षिय राजकुमार शाह रहेका छन् ।



Tags: