
जिल्ला अदालत कास्की
पोखरा, २० कात्तिक/ सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहितका ४ जनालाई थप अनुसन्धान गर्न अदालतले १० दिन म्याद थपेको छ ।
लामिछाने, सहित गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशी, लीला पछाईं र रामबहादुर खनाललाई म्याद थप गरेको हो ।
दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी १० दिन म्याद थप भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो । प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सभापति पक्राउको विरोधमा रास्वपा कार्यकर्ता तथा समर्थकले प्रदर्शन गर्दै आएका छन् । प्रहरी र आन्दोलनकारी विच झडप भएको थियो । भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।
पूर्वगृमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा उत्रिएका १४ जना प्रदर्शनकारी पक्राउ परेका छन् । उनका समर्थकसहित कार्यकर्ताले अदालत बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण तवरले फसाउन खोजिएको दाबी गर्दै आएका छन् । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गर्दै प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारसँग माग गरेका छन् ।





