गण्डकीका सबैजसो मन्त्री सम्पत्ति सार्वजनिक, कुन मन्त्रीको कति सम्पत्ति

-


     क्लिक गण्डकी     
     कार्तिक १४ गते २०८१ मा प्रकाशित


गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे

पोखरा, १४ कात्तिक/ गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सम्पत्ति विवरण अनुसार गण्डकीका सबैजसो मन्त्री धनी देखिन्छन् । उनीहरुको ठाउँठाउँमा घर र जग्गाका साथै प्रशस्त गरगहना उनीहरूसँग रहेको पाइएको छ ।

गण्डकी प्रदेशका सबैभन्दा धनी मन्त्रीका रूपमा सामाजिक विकासमन्त्री विन्दुकुमार थापा छन् । भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर केसीको पनि उत्तिकै सम्पत्ति छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सम्पत्तिका हिसाबले धनी छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नाममा विभिन्न ठाउँमा जग्गा र घर छ । उनको पालुङटार–१ मा घर र घरले चर्चेको ५ रोपनी १० आना जग्गा छ । यस्तै, काठमाडौँ महानगरपालिका–३ मा पनि उनको घर र त्यसले चर्चेको २१२ वर्गमिटर जग्गा छ । दुवै सम्पत्ति पैतृक रहेको उनले सम्पत्ति विवरणमा जनाएका छन् ।

मुख्यमन्त्री पाण्डेको ३६ रोपनीभन्दा बढी जग्गा पालुङटारमा छ । कपिलबस्तु नगरपालिकामा उनको ५ कट्ठा हाराहारी जग्गा छ । भक्तपुरको सूर्यविनायकमा पनि उनको करिब १० रोपनी जग्गा छ ।

मुख्यमन्त्री पाण्डेसँग ४५ तोला सुन, ७ सय तोला चाँदी, २ सेट हिरा र १ सेट मोती रहेको सम्पत्ति विवरणमा उल्लेख छ । विभिन्न बैंकमा उनको २७ लाख ७४ हजार नगद, उनकी श्रीमती विना पाण्डेको नाममा ७१ लाख ८७ हजार रुपैयाँ तथा छोरा सुयोग्यराज पाण्डेको नाममा ४ लाख ७८ हजार रुपैयाँ नगद छ ।

पाण्डेसँग दियालो फुडल्याण्डमा ६१ हजार १ सय कित्ता सेयर छ भने बैंक तथा वित्तीय संस्थामा ५ हजार कित्ता सेयर छ । उनकी श्रीमती विना शर्माको नाममा बैंक तथा वित्तीय संस्थामा ५ हजार र छोरा सुयोग्यको नाममा ४ हजार कित्ता सेयर छ । विनाको नाममा मारुती बोलेरो गाडीसमेत रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

सर्वाधिक धनी मन्त्री विन्दु

विन्दुकुमार थापा पोखराका धनाढ्य नेता हुन् । उनी लामो समय व्यवसायमा रहेर राजनीतिमा छिरेका व्यक्ति हुन् । उनको व्यवसाय अहिले पनि चलिरहेको छ । होटल, घरजग्गा, पर्यटन लगायत क्षेत्रमा उनले लगानी गरेका छन् र प्रशस्त कमाएका पनि छन् ।

मन्त्री थापाको पोखरा, नयाँ बजारमा भव्य घर र घरले चर्चेको ३ हजार ९ सय ११ वर्गमिटर जग्गा छ । उनकै नाममा अर्को घर पनि नयाँ बजारमा छ । यस्तै, श्रीमती मनलक्ष्मी थापाको नाममा २ वटा घर र जग्गा तथा अर्की श्रीमती राधा थापाको नाममा थप २ वटा घर र जग्गा विभिन्न ठाउँमा देखिन्छ ।

पोखरा–२९ मा ६ हजार ४३ वर्गमिटर जग्गा मन्त्री थापाका दुई श्रीमतीको नाममा छ । थापाले अंशुभरा स्क्युवार प्रालि, फुड एण्ड रिटेल, रोयल हिमालयन रिसोर्ट, पोखरा ट्रेड मल, सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा फाउण्डेसन, अंशुभरा फुड एण्ड वेभरेल, अंशुभरा एग्रो चलाएका छन् । थापाले लेकसाइडमा बगैंचा रिसोर्ट चलाएका छन् भने चिप्लेढुंगामा ट्रेड मल सञ्चालन गरेका छन् । थापाको नाममा पोखरा ८ र १७ मा पैतृक जग्गा छ ।

मन्त्री थापाको नाममा प्रभु बैंकमा १ लाख ८ हजार कित्ता सेयर छ । उनकी श्रीमती मनलक्ष्मीको नाममा लुम्बिनी विकास बैंकमा ३८ हजार ८१२ कित्ता सेयर छ भने छोरा सौगातको नाममा १० ठाउँमा र अविरलको नाममा २ ठाउँमा सेयर छ ।

एनएमबी बैंकमा ४ लाख ५७ हजार र लक्ष्मी बैंकमा १४ लाख ५३ हजार रुपैयाँ मन्त्री थापाको मौज्दात छ । लुम्बिनी विकास बैंकमा संस्थापक सेयर भएका उनीसँग ५६ हजार ४७ कित्ता सेयर छ । उनले एनएमबी बैंक न्यूरोड शाखाबाट ६ करोड ६३ लाख ऋण लिएको देखाएका छन् ।

उनीसँग २ करोडको टोयोटा जीप छ भने १ करोड १२ लाख पर्ने फोर्डको अर्को जीप छ । १ करोड १६ लाख मूल्य पर्ने कार उनकी श्रीमती मनलक्ष्मीको नाममा छ ।

मन्त्री थापाले एनएमबी बैंकबाट १२ करोड ३१ लाख ऋण लिएका छन् भने ग्रीन डेभलपमेण्ट बैंकबाट १२ करोड ५० लाख लिएका छन् । यस्तै, पोखरा फाइनान्सबाट ८५ लाख, मनोहर जंग राणाबाट ९४ लाख ९५ हजार, अनिता थापाबाट ५५ लाख, सुनिता थापाबाट ३० लाख ऋण लिएको उनले सम्पत्ति विवरणमा जनाएका छन् । सुन १६० तोला, चाँदी ५८० तोला, हिरा २० तोला उनीसँग छ ।

गण्डकीका भौतिकमन्त्रीसँग ५ सेट हिरा, ९५ तोला सुन

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी पनि धनी मन्त्रीमै दरिएका छन् । प्रदेशका मुख्यमन्त्रीमन्त्रीसहित मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको कराडौंको सम्पत्ति देखिएको हो ।

मन्त्री केसीसँग पनि पोखरा र ललितपुरमा घरजग्गा छन् । उनको पोखरा १२ मा २ ठाउँमा घरजग्गा छ भने ललितपुर–२ मा पनि उनको घरजग्गा छ । पोखरा–१२, पोखरा–१४, पोखरा वडा नम्बर ६, २३, २४, २९ मा उनको करोडौं पर्ने जग्गाहरु छन् ।

उनीसँग ५ सेट हिरा, ९५ तोला सुन, सवा ११ किलो चाँदी छ । उनले करिब ८० लाख ऋण देखाएका छन् । गण्डकी हाइड्रोमा १ करोड ८० लाख, युनिफाइड हाइड्रोमा ५६ लाख रहेको खुलाएका छन् । माछापुच्छ्रे बैंकमा शेयर रहेको बताए पनि रकम भने उनले खुलाएका छैनन् । श्रीवृद्धि सहकारी र वाराही प्रशारण प्रालिमा उनले शेयर रहेको खुलाएका छन् ।

१ करोड ९ लाख रुपैयाँ त उनले विभिन्न व्यक्तिलाई ऋण नै दिएका छन् । उनले पोखरा १२ को घरबाट मासिक ५ लाख रुपैयाँ बहालमार्फत प्राप्त हुने बताएका छन् ।

रिसोर्ट र करोडौँको सम्पत्ति

वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलको प्रमुख आम्दानीको स्रोत हो रिसोर्ट । उनले लमजुङको बेंसीसहरमा गेटवे हिमालय रिसोर्ट चलाएका छन् । यसबाहेक उनको पुर्ख्यौली सम्पत्ति प्रशस्त छ ।

उनी र राजेश पौडेलको नाममा लमजुङको बेंसीसहरमा घर र घरले चर्चेको २५ सय वर्गमिटर जग्गा छ । सोही ठाउँमा अर्को १ हजार वर्गमिटर जग्गा र घर छ भने फूलमाया पौडेलको नाममा काठमाडौँमा घर र ६५६ वर्गमिटर जग्गा छ । उनीहरूको ४२ रोपनी जग्गा बेंसीसहरमा छ ।

मन्त्री पौडेलसँग ८० तोला सुन, ६० तोला चाँदी, ५ सेट हिरा र २५ लाख रुपैयाँ नगद छ । यस्तै उनीसँग ग्लोबल आइएमई बैंकमा १ लाख १० हजार कित्ता र लिवर्टी हाइड्रोमा १ लाख ६० हजार कित्ता सेयर छ । उनले विभिन्न बैंकबाट ऋण लिएको देखाएका छन् । उनले बेंसीसहरमा गेटवे हिमालय रिसोर्ट चलाएका छन् । उनीसँग एउटा जीप पनि छ ।

अर्थमन्त्री ऋणमा

अर्थमन्त्री टकराज गुरुङले ऋण लिएर व्यवहार चलाइरहेको देखाएका छन् । उनकी श्रीमती प्रतिमा गुरुङको नाममा काठमाडौँको बल्खुमा ९ आना जग्गा र एउटा घर छ भने लमजुङको राइनासमा ७ रोपनीभन्दा बढी जग्गा र घर छ ।

मन्त्री गुरुङको नाममा सुन्दरबजारमा ४२ आना जग्गा छ भने सोही ठाउँमा प्रतिमा गुरुङको नाममा १० आना जग्गा छ । आफूसँग १० तोला सुन र १० तोला चाँदी रहेको मन्त्री गुरुङले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

उनीसँग २ वटा बैंकमा ३५ हजार रुपैयाँ मौज्दात छ । उनले राष्ट्रिय बाणिज्य बैंकबाट ८५ लाख रुपैयाँ ऋण लिएका छन् । आफू र श्रीमतीसँग गरी जम्मा २ वटा गाडी रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।

स्वास्थ्यमन्त्रीको घर चन्द्रागिरिमा

स्वास्थ्यमन्त्री कृष्ण पाठक बागलुङका हुन् । उनको बागलुङ नगरपालिका–१२ मा ६ रोपनी १४ आना जग्गा र घर छ । सोही ठाउँमा थप करिब ६ रोपनी जग्गा छ ।

यसबाहेक काठमाडौँको चन्द्रागिरि नगरपालिकामा ५ आनामा बनेको १ तले घर पनि छ । उक्त सम्पत्ति कृष्णकुमारी पाठक र कविता कार्कीको नाममा छ । छोराबुहारीले वैदेशिक कमाइबाट पठाएर उक्त सम्पत्ति खरिद गरेको उनले जनाएका छन् ।

मन्त्री पाठकसँग सुन ८ तोला, चाँदी २० तोला छ । सबैजसो सम्पत्ति पैतृक रहेको उनले जनाएका छन् । उनको करिब २ लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा छ । उनले ठेउलेखोला हाइड्रोपावरमा १ सय कित्ता सेयर खरिद गरेका छन् ।

कृषिमन्त्रीका ठाउँठाउँमा घर

कृषिमन्त्री पद्मा जिसीसँग पनि विभिन्न ठाउँमा घर र जग्गा छ । उनका पति जीवन श्रेष्ठको नाममा काठमाडौँको टोखामा घर र ११८ वर्गमिटर जग्गा छ ।

मन्त्री पद्माकै नाममा कावासोतीमा ४ आना र २ आना छुट्टाछुट्टै जग्गा छ । उनी र उनका पतिको नाममा कावासोतीमा विभिन्न कित्ता गरी करिब ३ रोपनी हाराहारी जग्गा छ । ३१ तोला सुन र २८५ तोला चाँदी उनीसँग छ ।

कृषि विकास बैंकमा उनको १ लाख ११ हजार नगद छ । एनएमबी बैंकमा ३९ लाख बराबरको सेयर रहेको र कालिगण्डकी सहकारीबाट १० लाख ९१ हजार रुपैयाँ ऋण लिएको उनले सम्पत्ति विवरणमा खुलाएकी छन् ।

मन्त्री पद्माका श्रीमानको नाममा एउटा कार छ । बैंकबाट ऋण लिएर कार खरिद गरेको उनले जानकारी गराएकी छन् । यसबाहेक पिपुल्स हाइड्रोमा १० लाखमा सेयर खरिद गरेको, कामना सेवा विकास बैंकमा २ हजार ८ सय कित्ता र कालिगण्डकी सहकारीमा १ लाख रुपैयाँको सेयर रहेको उनले खुलाएकी छन् ।

ऊर्जामन्त्रीले काठमाडौँमा घर किने

गण्डकीका ऊर्जामन्त्री फणीन्द्र देवकोटासँग काठमाडौँको कीर्तिपुरमा ६ आना जग्गाभित्र बनेको घर छ । उक्त सम्पत्ति रुक्मणी शर्माको नाममा छ । उनले पैतृक सम्पत्तिको ९ आना जग्गा बेचेर घर बनाएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

मन्त्री देवकोटाको बाबुको नाममा गोरखाको पालुङटारमा बण्डा नभएको २ वटा घर छ । सोही ठाउँमा विभिन्न कित्तामा जग्गा छ । मन्त्री देवकोटासँग १२ तोला सुन छ भने ४ लाख हाराहारी रकम बैंकमा छ ।

मन्त्री देवकोटा र उनकी श्रीमतीको नाममा नेशनल लाइफ इन्स्योरेन्समा जीवन बीमा छ भने श्रीमतीले आमा समूहमा मासिक बचत गरेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै, जग्गा किन्नका लागि साढे ३ वर्ष पहिले आफूले ६७ लाख रुपैयाँ बैना दिएको पनि मन्त्री देवकोटाले खुलाएका छन् । यसबाहेक ज्वाला खनाललाई १ लाख रुपैयाँ सापटी दिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

मन्त्री देवकोटाको श्रीमतीको नाममा स्कुटर छ भने अन्य घरायसी सामग्री पनि सम्पत्ति विवरणमा उनले उल्लेख गरेका छन् ।

पर्यटनमन्त्रीको ऋण १ करोड

उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसँग पर्वतको पैंयुमा २ रोपनी १५ आना जग्गा र घर छ । सोही ठाउँमा करिब २१ रोपनी अर्को जग्गा पनि छ । दुवै सम्पत्ति पैतृक भएको उनले जनाएका छन् ।

मन्त्री बस्यालसँग ८ तोला सुन छ । कृषि विकास बैंकमा उनको १ लाख रुपैयाँ बचत छ । मुक्तिनाथ विकास बैंकबाट उनले १ करोड ऋण लिएको देखाएका छन् । उनले ५ रोपनी जग्गामा धान खेती गर्छन् । उनले अन्नपूर्ण भेट सप्लायर्स सञ्चालन गरेका छन् ।

गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नेपर्ने गरी आचारसंहिता जारी गरेको थियो ।

पछिल्लो पटक जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारका ९ जना नै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने २ दिनअघि बसेको मन्त्रीपरिषदले निर्णय गरेको थियो ।