
होटल संघ पोखराको अध्यक्षमा पुनः लक्ष्मण सुबेदी
पोखरा, ९ कात्तिक/ होटल संघ पोखरा नेपाल अध्यक्षमा पुनः लक्ष्मण सुबेदी निर्वाचित भएका छन् । संघको बिहीबार २१ औ अधिवेशन तथा ४२ औ साधारण सभाले सुवेदीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको निवर्तमान अध्यक्षमा विकल तुलाचन, प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल, सचिवमा पार्वता पाण्डे, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल र सहकोषाध्यक्षमा वैभव पौडेल निर्वाचित भए । सदस्यमा भरतराज शर्मा, डिल्लीराम गौतम, पञ्चम लामा, शिवराज पहारी र प्रतीकराज पहारी निर्वाचित भएको निर्वाचन मण्डल अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।
अधिवेशनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । उनले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेकाले यसलाई जोगाराख्ने दायित्व सबैको भएकाले यसमा ध्यान दिन आग्रह गरे ।
संस्थाका पूर्वअध्यक्ष/सल्लाहकार एवं होटल संघ नेपाल गण्डकी अध्यक्ष हरि शर्मा गैह्रेले पर्यटकको बसाइँ लम्ब्याउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए । उनले पोखराको लेन्थ अफ स्टेघटेकाले यसमा कसैको ध्यान नपुगेकोमा चिन्ता व्यक्त गरे ।





