पोखरामा रविको समर्थकनमा रास्वपाको प्रदर्शन

-


     क्लिक गण्डकी     
     कार्तिक ३ गते २०८१ मा प्रकाशित


पोखरामा रविको समर्थकनमा रास्वपाको प्रदर्शन

पोखरामा रविको समर्थकनमा रास्वपाको प्रदर्शन

पोखरा, ३ कात्तिक/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गरेको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि नेता कार्यकर्ताले राजनीतिक प्रतिशोध साँधेको भन्दै नाराबाजी सहित प्रदर्शन गरेका हुन् ।

सहकारी घोटलामा आफ्ना नेता कार्यकर्ता जोगाउन सरकारले रविलाई पक्राउ गरेको उनीहरूको आरोप छ । उनीहरूले धनराज गुरुङ, ऋषिकेश पोखरेल लगायतलाई सरकारले जोगाउन लागेको आरोप लगाए ।

गुरुङ र पोखरेलको फोटोसहित उनीहरू प्रदर्शनमा उत्रिएका थिए । शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेर प्रहरीले लामिछानेलाई राति नै पोखरा ल्याएको थियो ।

सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले पार्टी सभापति रवि लामिछानेलाई सिध्याउन सके रास्वपा सिध्याउन सकिन्छ भनेर कांग्रेस एमाले लागेको बताए । उनले पुराना दलले रास्वपा सिध्याउने दिवास्वप्न मात्र देखेको बताए । उनले रास्वपा रवि लामिछानेको लागि नभई नयाँ पुस्ताका लागि केही गर्न आएको पार्टी भएकोले अभियान सक्काउन नदिने बताए ।

रास्वपा सहप्रवक्ता मनिष झाले सरकार सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफ्नो कुण्ठा पोख्ने र प्रतिशोध साँध्न लामिछानेलाई पक्राउ गरेको बताए ।

सहकारी वचत अपचलन संसदीय छानबिन समितिले ४० वटा सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको देखाएको तर सरकारले गोर्खा मिडिया प्रालिमा सहकारीबाट गएको ६५ करोडको विषयलाई मात्र उछालेको उनले बताए ।

प्रतिशोधको राजनीति बन्द गर, नडराउ रवि दाइ जनता तिम्रो साथमा छ जस्ता नारा लगाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ परेपछि सहकारी पिडितहरुले आफुहरुले न्याय पाउने आशा व्यक्त गरे ।

रवि पक्राउ परेपछि अब भने यो मुद्धा बचतकर्ता पीडितको मात्र रहेन, देश र राज्यकै भएको सहकारी पिडित संर्घष समितिका संयोजक किरण श्रेष्ठले बताए । देशका विभिन्न सहकारीबाट गोर्खा मिडियामा ६५ करोड गएको संसदीय छानबिनले देखाएको छ ।

सूर्यदर्शन सहकारीबाट ५ करोड रुपैयाँ गएको देखिन्छ । सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पुरक जाहेरीमा थप गरि ४४ जनालाई पक्राउ पूर्जी जारी गरेको छ ।



Tags: