
पोखरा राँगोले हानेर धनञ्जय आचार्यको मृत्यु
पोखरा, २४ असोज/ पोखरा ३३ का ३७ वर्षे धनञ्जय आचार्यको राँगाले हानेर मृत्यु भएको छ । पोखरा महानगरपालिका ३३ स्थायी घर भएका आचार्यको आफ्नै दाजुको सुरौदीस्थित भैंसी फारममा पालो दिन गएका बेला राँगोको आक्रमणमा परी मृत्यु भएको हो ।
माइला दाजु आफ्ना जेठानको निधन भएकाले अन्त्येष्ठिमा जादा गोठको घासँ पानी दिन धनञ्जय गएका थिए । धनञ्जय पोखराको बिरौटामा बस्थे ।
राँगोले लखेटेपछि झाडीमा लुकेको भन्दै उनले मंगलबार दिउँसो ४ बजे पत्नीलाई फोन गरेका थिए । ५ बजेपछि उनीसँग फोन सम्पर्क भएको थिएन । राति अबेलासम्म गोठमा नफर्केपछि धनञ्जयको खोजी थालिएको थियो ।
राति १० बजेतिर पोखराबाट दाजुहरु सुरौदी पुगेका थिए । रातभर खोज्दा पनि नभेटिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । धनञ्जयको शव गोठभन्दा करिब डेढ घन्टा परको पैदल दुरीमा क्षतिविक्षत अवस्थामा भेटिएको थियो ।
माथिल्लो गरामा मोबाइल फोन, त्यो भन्दा तल कोट र तलतिर उनको शव भेटिएको थियो । उनको शव भेटिएको स्थान स्याङ्जामा पर्छ । उनको मंगलबार नै पोस्टमार्टम गरी अन्त्येष्ठि भइसकेको छ ।