
विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि नवदुर्गा महोत्सव हुने
पोखरा, १४ असोज/ पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा दशैँ अवसरमा नवदुर्गा महोत्सवको तयारी अगाडी बढेको छ ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले घटस्थापनादेखि महानवमीसम्म आयोजना गर्ने नवदुर्गा महोत्सवमा विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा तथा श्रीमद्देवीभागवत् ज्ञान महायज्ञ हुने छन् । असोज १७ देखी २५ गते सम्म महोत्सव गर्न लागिएको सोमबार पत्रकार सम्मेलनमा समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।
उनले महायज्ञ संगीतमय झाँकीसहित कथा वाचन गरिने छ । उनले मन्दिरमा बेलाबखतमा हुने पर्वविशेष पूजनोत्सव, धार्मिक गतिविधि, आध्यात्मिक प्रवचन लगायतले धर्म र संस्कृतिको संरक्षणमा टेवा मिल्ने विश्वास गरे ।
घटस्थापनामा नवदुर्गाका नौ रुप सिंगारिएका नवकन्या, आरुढ नौरथ, विन्ध्यवासिनी मन्दिरको झाँकी तथा विभिन्न जातिका भेषभूषा र सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालेर जातीय, धार्मिक, सांस्कृतिक, सामाजिकलगायतका पक्षहरुको उजागर गरिने समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले बताए ।
घटनास्थापनाको दिन विन्ध्यवासिनी पार्कबाट शुरु हुने शोभायात्रा मोहरियाटोल, भैरवटोल, भीमसेन टोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोलहुँदै पुनः विन्ध्यबासिनी मन्दिर परिसर पुगेर समापन हुनेछ ।
विजयादशमी अवधिमा मन्दिरमा बिहान ४ बजेदेखि नित्य पूजा हुनेछ । भक्तजनका लागि ५ बजेदेखि मन्दिर दर्शनको व्यवस्था मिलाइएको छ । ५ देखि ९ बजेसम्म बालगोपाल भजनमण्डल विन्ध्यवासिनी महिला भजन समूहलगायतबाट भजनकीर्तन हुनेछ । प्रत्येक साँझ ६ बजे आरति गरिनेछ ।
बिहान ९ देखि दिउँसो १२ बजेसम्म तथा दिउँसो २ देखि ४ बजेसम्म श्रीमद्भागवत् कथा प्रवचन हुनेछ । मन्दिरमा संकलित भेटी समितिले मन्दिरको सौन्दर्यकरण, पूर्वाधार निर्माणमा खर्चिंदै आएको जनाएको छ ।
२०५१ सालमा स्थापित विन्ध्यवासिनी गुरुकुल विद्यालयमा हाल कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीयरुपमा अध्यापन कार्य हुने गरेको छ । यसलाई कक्षा १२ सम्म बिस्तार गर्ने समितिको लक्ष्य छ ।
त्यसै गरी विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्दै आएको छ । समितिले एम्बुलेन्स सेवा गरी रहेको छ । मन्दिरमा ज्येष्ठ नागरिक तथा असहायका लागि आवतजावत गर्न विद्युतीय भ¥याङ (लिफ्ट) व्यवस्था गरिएको छ ।
पोखराको अधिकारीटोलमा २६ रोपनीमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय सञ्चालित छ । चिकित्सालयको भौतिक पूर्वाधार निर्माण जारी छ । चिकित्सालय मंसिरमा उद्घाटन लक्ष्य रहेको समितिका सचिव आनन्द श्रेष्ठले बताए । अहिले सम्म यहाँबाट १८ हजार भन्दा बढिले सेवा लिएका छन् ।





