पोखरामा ईन्टरनेटको लत्रिएको तार पन्छाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     असाेज १२ गते २०८१ मा प्रकाशित


पोखरामा ईन्टरनेटको लत्रिएको तार पन्छाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

पोखरामा ईन्टरनेटको लत्रिएको तार पन्छाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

पोखरा, १२ असोज/ पोखरा महानगरपालिका वडा नम्बर–६ गौरीघाटमा घरको आगनमा ईन्टरनेटको तार लत्रिएको पन्छाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

गौरीघाटका खेमबहादुर पौडेल (मंगल) को आफ्नो घरको आगन भएर अन्यत्र लगिएको ईन्टरनेटको तार लत्रिएको तार पन्छाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । असोज १ गते दिउँसो करीब १२ः४० बजेको ईन्टरनेटको लत्रिएको तार पन्छाउने क्रममा उनलाई करेन्टले लागेको थियो ।

ईन्टरनेटको तार छुँदैमा करेन्ट लाग्दैन भन्ने सुनेका उनलाई एक्कासी करेन्टले हातमा झट्का हानेपछि आत्तिए र हत्तपत्त तार हुत्याए । तर हुत्याएको तार आफ्नो घाँटीदेखि छातीहुँदै कम्मरसम्म बेरियो । करेन्ट सहितको तारले बेरिएपछि उनी त्यहिं ढले ।

श्रीमानलाई करेन्ट लागेर ढलेको देखेपछि श्रीमती जानुका पौडेल चिच्याईन् । केहिबेर हारगुहार भएपछि उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।

करेन्टले घाँटीदेखि छातीहुँदै कम्मरसम्म र हातपनि जलेको अवस्थामा अस्पताल पु¥याइएका उनलाई आईसियूमा राखेर उपचार गरिएको थियो । उनको उपचार कै क्रममा नवौं दिनको दिन मृत्यु भएको हो ।

घटनालगत्तै पीडित परिवारले कास्की प्रहरीलाई जानकारी गरायो । प्रहरीले लत्रिएको नाङ्गो तारसहित घटनाको मुचुल्का बनायो । पीडित परिवारले दोषीमाथि कारवाही गर्न माग गर्दै प्रहरीमा शुरुमा ठाडो निवेदन र त्यसपछि ईन्टरनेट सेवा प्रदायक कम्पनी र नेपाल विद्युत प्राधिकरणबिरुद्ध किटानी जाहेरी दिएको छ । तर प्रहरीले मुचुल्का तयार पार्नुबाहेक थप कारवाही प्रक्रिया अगाडि नबढाएको पीडित परिवारको गुनासो छ ।

ज्यानमारा तार हटाउन पटक/पटक आग्रह गर्दापनि ईन्टरनेट सेवा प्रदायक कम्पनीले बेवास्ता गरेको आरोप भीमसेन भुजेलको छ । यसैबीच, दुई दर्जन संघसंस्थाहरुले शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै दोषि ईन्टरनेट केवल कम्पनीलाई कारवाही र पीडितलाई क्षतिपुर्ती दिन माग गरेका छन् ।