
सुपर मादी हाइड्रोपावर
पोखरा, ९ असोज/ कास्कीको मादी गाउँपालिकामा सञ्चालनमा रहेको सुपर मादी हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक नगद लाभांश पनि छुट्याएको छ ।
कम्पनीले कात्तिक ५ गते साधारणसभा बोलाएको छ । साधारणसभाका लागि असोज १८ गते बुक क्लोजको मिति तय गरेको छ । असोज १७ गतेसम्म सेयर होल्ड वा खरिद गरेका लगानीकर्ता साधारणसभामा भाग लिन र लाभांशका लागि योग्य हुने जनाएको छ ।
कम्पनीले ताप्लेजुङ जिल्लामा निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजनामा लगानी गर्न हकप्रद शेयर समेत निष्कासन गर्ने जनाएको छ ।
यसका लागि साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी दिनेगरी प्रस्ताव लगिँदैछ । बुधबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ५९३ रुपैयाँ छ ।





