
छविलाल जोशी
पोखरा, ७ असोज/ सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ ।
जोशीलाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप गरेको हो ।
विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।
त्यही सिफारिसका आधारमा जोशीलाई पक्राउ गरिएको हो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रूपैयाँ गएको देखिएको छ ।







