पोखरामा क्यान्सर उपचारको सेवा विस्तार, बीपी कोइरालासँग सम्झौता

-


     क्लिक गण्डकी     
     असाेज १ गते २०८१ मा प्रकाशित


पोखरामा क्यान्सर उपचारको सेवा विस्तार, बीपी कोइरालासँग सम्झौता

पोखरामा क्यान्सर उपचारको सेवा विस्तार, बीपी कोइरालासँग सम्झौता

पोखरा, १ असोज/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा क्यान्सर उपचारको सेवा विस्तार गरिएको छ । प्रतिष्ठानले क्यान्सर उपचार सेवाको लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार प्रतिष्ठानलाई बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विशेषज्ञ सहयोग गर्नेछ । अस्पतालका कार्यकारी निर्देशक डा. शिव पौडेल र प्रतिष्ठान पोखराका निर्देशक भरतबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेवा विस्तारले गण्डकीका बिरामीलाई सेवा लिन सहज हुने बताए । उनले स्वास्थ्य उपचार खर्चिलो हुँदै गएकाले बीमामार्फत उपचार हुने व्यवस्थाका लागि सरकारले बीमाको रकम एक लाखबाट बढाएर पाँच लाख पुर्याउनु पर्ने बताए । त्यसका लागि रोजगारमा रहेका व्यक्तिबाट २ प्रतिशत स्वास्थ्य बीमाका लागि कर काट्ने व्यवस्था गर्नु पर्ने बताए ।

सम्झौता अनुसार विस्तारित सेवाको हकमा क्यान्सर अस्पतालले महिनाको कम्तीमा एकपटक बहिरङ्ग, अन्तरङ्ग एवं उपचार समेत समेटेर सेवा प्रदान गर्नेछ । सेवा दिनको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले क्यान्सर रोगको विस्तारित सेवा सञ्चालन गर्न आवश्यक वातावरण निर्माण गर्ने, सेवाग्राहीलाई सेवाबारे सूचना, कार्यतालिका र सेवा विवरणबारे जानकारी गराउनुपर्ने छ ।

सम्झौता असोज १ गतेदेखि २०८२ असार मसान्त सम्मका लागि भएको प्रतिष्ठानका निर्देशक खत्रीले जानकारी दिए । यसअघि यहाँका बिरामी अन्यत्रै गएर उपचार गर्थे । प्रदेश सरकारले क्यान्सर उपचारका लागि विभिन्न अस्पतालसँग सम्झौता पनि गरेको छ ।