
नुवारथोक बाल क्लबद्धारा तीजको सस्कृती बारे चर्चा
पोखरा, १६ भदौ/ हरितालिका तीज पर्वको अवसरमा नुवारथोक बाल क्लवको आयोजनामा बालबालिकाले तीज पर्व मनाएका छन् । कार्यक्रममा बालबालिकाले अभिभावकबाट तीज पर्वको महत्वका बारेमा जानकारी लिनुको साथै तीज गीतमा रमाएका थिए ।
बालबालिकालाई तीज पर्वको बारेमा जानकारी दिने उद्देश्यले नुवारथोक बाल क्लबको आयोजनामा दरखाने कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई नुवारथोक टोल विकास संस्थाले सघाएको थियो ।
बालबालिकालाई तीजको महत्व बुझाउन तीज पर्वको अवसरमा दर खाने कार्यक्रममा आयोजना गरिएको नुवारथोक बाल क्लबकी अध्यक्ष एन्जीला पौडेलले बताइन् । दरखाने कार्यक्रममा तीज गीतमा नृत्य प्रतिस्पर्धा पनि भएको थियो ।
तीजको अवसरमा भएको नृत्य प्रतिस्पर्धामा समृद्धि बराल प्रथम भइन् । इसानी बराल दोस्रो हुँदा सम्पदा बराल तेस्रो भइन् । प्रथम, द्धितिय र तृतीयलाई पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले क्रमश ५ सय, ३ सय र २ सय रुपैयाँ पुरस्कार प्रदान गरे । नुवारथोक बाल क्लबको आयोजनामा प्रत्येक हप्ताको शनिबार रचनात्मक कार्यक्रम हुँदै आएको छ ।
बालबालिकालाई संगठीत गर्दै बाल अधिकार लगायतका विषयमा हुने अन्तरक्रियाले बालबालिका बिच नेतृत्व कला विकास हुने भन्दै वडा अध्यक्ष आचार्यले खुशी व्यक्त गरे । बाल क्लबमा बाल अधिकारका विषयमा अन्तरक्रिया, छलफल हुने संस्थाकी समृद्धि बरालले सुनाइन् ।
बालबालिका बिच हाजीर जवाफ, चित्रकला प्रतियोगिता, योग अभ्यास लगायतका कार्यक्रम हुँदै आएको नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बरालले बताए । नुवारथोक टोल विकाश संस्थाको अभिभावकत्वमा बाल क्लबले विभिन्न गतिविधि गर्दै आएको छ । कार्यक्रमा वडा सदस्य विष्णुमणि बराल, स्थानीय अभिभावकको उपस्थिती रहेको थियो ।







