२ करोड बिमा दाबी गर्न आफ्नै पसलमा जलाउने जेल चलान

-


     क्लिक गण्डकी     
     भाद्र १६ गते २०८१ मा प्रकाशित


पोखराको लेकसाइडमा पसलमा आगोलागि, करोडको क्षती तस्बिरः आशिष पुरी

पोखराको लेकसाइडमा पसलमा आगोलागि, करोडको क्षती तस्बिरः आशिष पुरी

पोखरा, १६ भदौ/ बिमाको रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाएको आरोपमा पक्राउ परेका २ जना कारागार चलान भएका छन् ।

स्याङ्जाको आँधीखोला गाउँपालिका–६ बस्ने ३६ वर्षीय सुजन गहतराज र स्याङ्जाको पुतली बजार नगरपालिका–७ बस्ने ४३ वर्षीय पवन नेपाल जेल चलान भएका हुन् ।

उनीहरूले बिमाको रकम दाबी गर्न साउन १६ गते लेकसाइडमा गहतराजले चलाइरहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगो लगाएका थिए । कास्की जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको हो । प्रहरीले उनीहरुविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाएको छ ।

सुजनले नयाँ इन्भर्टर जडान गरेको र सोही इन्भर्टरको वाइरिङ सर्ट भएर आगो लागेको प्रहरीलाई बयान दिएका थिए । उनले पसलको बिमा गराएको छैन भनेर प्रहरीलाई भनेका थिए । घटनाबारेमा थप सोधपुछ गर्दै जाँदा घटना शंकास्पद देखिएपछि प्रहरीले २० साउनमा पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

उनले गत चैतमा पसलको २ करोड रुपैयाँको बिमा गराएका थिए । ४३ वर्षीय नेपालले साथी गहतराजलाई सो पसलमा आगो लगाएर बिमा रकम लिन सिकाएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।