
समाधान पत्रिका जलाएको प्रति महासंघको आपत्ति
पोखरा, ५ भदौ/ पोखराबाट नियमित प्रकाशन हुँदै आएको यस क्षेत्रको अग्रणी मध्यको एक पत्रिका समाधान दैनिकमा छापिएको समाचारलाई लिएर पोखराको सूर्यदर्शन सहकारी पीडितहरुको नाममा पत्रिका जलाइएको घटनाका विषयमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति र कास्की शाखाको गम्भिर ध्यनाकर्षण भएको छ ।
जनतालाई सुसूचित गराउने भरपर्दो माध्यमको रुपमा रहेको पत्रिकालाई जलाइनु र पत्रिकाका सम्पादक रामकृष्ण ज्ञवालीको नाम लिँदै धम्किपूर्ण अभिव्यक्ति दिनु संविधान बिपरित र प्रेस एवं अभिव्यक्ति स्वतन्त्रामाथिकै आक्रमणको रुपमा महासंघले लिएको छ ।
यस घटनाको घोर भत्सना गर्दै पत्रिका जलाउने र सर्वजनिक रुपमा पत्रकार माथि धम्किपूर्ण लाल्छना लगाउने व्यक्तिको पहिचान गरी यथाशीघ्र कानूनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति सम्बन्धित निकायसंग जोडदार माग गर्दछ । प्रदेशका महासचिब गोविन्द सुबेदी र कास्की शाखाका सचिब माधब बरालले छुटाछुटै विज्ञप्ती निकाले र भत्सना गरेका छन् ।
साथै, समाचारको विषयमा चित्त नबुझे सूचना विभाग, प्रेस काउन्सिल र अदालतसम्म जाने विकल्प हुँदा हुँदै पछिल्ला दिनमा सार्वजनिक स्थलमा पत्रकार माथि भएको सांघातिक आक्रमण, सरकारमा रहेका जिम्मेवार व्यक्तिबाट पत्रकार कुट्नुपर्ने धम्की र पत्रिका नै जलाउने जस्ता घटनाले समग्र श्रमजिवी पत्रकार र सञ्चारगृह समेत असुरक्षित भएको महसुस् भएको जनाएको छ ।
यी र यस्ता घटनामा संलग्न जोकोही दोषीलाई कानूनी दायरामा ल्याइ निर्वाध रुपमा समाचार संकलन एवं प्रकाशनरप्रशारणको सहज वातावरण बनाउन समेत सम्बन्धित पक्षसंग महासंघ गण्डकी प्रदेश समिति आग्रह गरेको छ ।





