टान गण्डकीको टोली भुटान भ्रमण, पर्यटन प्रवर्द्धन र हवाई उडानबारे छलफल

-


     क्लिक गण्डकी     
     श्रावण २६ गते २०८१ मा प्रकाशित


टान गण्डकीको टोली भुटान भ्रमण, पर्यटन प्रवर्द्धन र हवाई उडानबारे छलफल

टान गण्डकीको टोली भुटान भ्रमण, पर्यटन प्रवर्द्धन र हवाई उडानबारे छलफल

पोखरा, २६ साउन/ ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) गण्डकीको ‘भुटान फाम टूर’ गरेर फर्किएको छ । अमीन भुटान टुर्स एण्ड ट्रेकले टान गण्डकीमा आबद्ध भुटानमा टूर विक्री गर्ने कम्पनीका प्रतिनिधिलाई भुटान फाम टूरमा सहभागी भएका थिए ।

पोखरा महानगरपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा टानका १५ जना प्रतिनिधिले अगस्ट ३ देखि ७ सम्म भुटानको भ्रमण गरेका हुन् ।

भुटान भ्रमणका क्रममा विभिन्न कार्यक्रम गरिएको कार्यक्रम संयोजक एवं टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

भुटानका परराष्ट्रमन्त्री दिननाथ ढुंगेल, भुटान दलका संसदीय दल नेता लाक्पा छिरिङ्ग तामाङ तथा पर्यटन विभागका निर्देशक डोक्या रिन्जिमलगायत उच्च स्तरीय नेतृत्वसँग भेट तथा पर्यटनका विषयमा छलफल भएको आचार्यले जानकारी दिए ।

उच्च स्तरीय भेटमा संयोजक आचार्यले पर्यटन विकासमा नेपाल र भुटानले हातेमालो गर्न सकिने बताए । उनले भुटानको धर्म, संस्कृति, भाषा र डाडाँकाँडा नेपालसँग मिल्दोजुल्दो रहेको जानकारी गराए । नेपालको पदमार्ग सकेर भुटानमा भ्रमण गरेमा पर्यटकको यात्रा पूर्ण हुने तर्क आचार्यले गरेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको अन्तर्राष्ट्रिय विमानस्थल र भुटानको पारो विमानस्थल बिचमा उडान गर्नेबारे चासो राखे ।

उनले नेपाली पर्यटकलाई भुटान आउनका लागि सहजीकरण गर्न आग्रह गरेका थिए । नेपाल र भुटानलाई पर्यटनमार्फत जोड्न सकिने श्रेष्ठको भनाइ थियो ।

त्यसक्रममा भुटानका परराष्ट्रमन्त्री ढुङेगलले आगामी दिनमा टान गण्डकीसँग मिलेर पर्यटकीय क्षेत्रमा नेपालमा सहयोग पुर्याउने प्रतिवद्धता जनाए ।

नेपालका विभिन्न ठाउँबाट भुटान घुम्न आइदिन आग्रह गर्दै मन्त्री ढुंगेलले निकट भविष्यमा पोखरा भ्रमण गर्न नेपाल आउने वाचा गरेका थिए ।