फेरी गण्डकीले गुमायो अनुभवी पाइलट, हेलीकप्टरका क्याप्टेन अरुण मल्ल अस्ताए

-


     क्लिक गण्डकी     
     श्रावण २४ गते २०८१ मा प्रकाशित


अरुण मल्ल

अरुण मल्ल

पोखरा, २४ साउन/ म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती मैदानका अरुण मल्ल अनुभवी पाइलट हुन् । नेपालमा रहेका हेली कम्पनीका अनुभवी क्याप्टेनका रुपमा अरुण मल्ललाई चिनिन्थ्यो ।

नेपालको हेलिकप्टर उडानमा ३५ बर्ष लामो अनुभवी जनशक्ति बुधबार गुमाएको छ । लामो समयदेखि एयर डाइनेष्टीमा आवद्ध क्याप्टेन मल्ल नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर जङ्गलमा भएको दुर्घटनामा रसुवाको स्याफ्रुबेँशीतर्फ जाँदै गर्दा क्याप्टेन मल्लसहित पाँचै जनाको मृत्यु भयो ।

क्याप्टेन मल्लको निधनले स्वदेश तथा विदेशमा रहेका शुभचिन्तक शोकमा डुवेका छन् । तत्कालिन वायुसेवा कम्पनी नेपाल एयरवेज, कर्णाली एयरवेज लगायत नेपाली वायुसेवासँगै अन्तर्राष्ट्रिय क्षेत्रको पनि हेलिकोप्टर उडाएको अनुभव थियो ।

उनी अनुभवी क्याप्टेन थिए । १५ वर्षभन्दा अगाडिदेखि एयर डाइनेष्टीमा आबद्ध रहेका थिए । रसियामा उडान कोर्स गरेर आएका मल्लले करिअरको सुरुवातमा एमआइ–१७ पनि उडाएको अनुभव थियो । कर्णाली एयरवेजपछि एयर डाइनेष्टीमा आबद्ध भएर नेपालको आकाशमा उद्धारदेखि पर्यटकलाई गन्तब्यसम्म पुर्याउने सुरक्षित क्याप्टेन मानिनुहुन्थ्यो ।

मल्लले २०७० असोज १० गते बिहान ८ बजेर २० मिनेट जाँदा सोलुखुम्बुकै लुक्लामा मृत्युलाई पराजित गरेका थिए । दुई यात्रु लिएर तेञ्जिङ हिलारी विमानस्थलको हेलिप्याडमा ल्याण्ड गर्न खोज्दा मल्लले उडाएको हेलिकप्टर विमानस्थलको तारबारमा ठोक्किएको थियो ।

क्याप्टेन मल्ल २०७९ चैत २९ गते हवाई उडानकै क्रममा मृत्युलाई पन्छाउनुभएको थियो । नुवाकोट सूर्यचौरमा दुर्घटना भएकै हेलिकोप्टर त्यस दिन ह्याम्स अस्पतालको छतमा अवतरण क्रममा दुर्घटनामा परेको थियो ।

अबको दुई बर्षपछि अवकाश लिने तयारीमा रहनुभएका क्याप्टेन मल्ल केही दिनमा फिनल्याण्ड हुदै मोना बेल्जियमको कार्यक्रममा जाने तयारी थियो । क्याप्टेन मल्लका श्रीमती र दुई छोरी छन् । कास्कीको रुपा गाउँपालिका जन्मिएका दुई पाइलट यस अगाडी नेपालमा भएको हवाइ दुर्घटनामा ज्यान गुमाएका थिए ।