तालबाराही मन्दिरको पुनःनिर्माणमा ढिलाई

-


     क्लिक गण्डकी     
     श्रावण २४ गते २०८१ मा प्रकाशित


ताल बाराही मन्दिर

फाइल तस्बिर-ताल बाराही मन्दिर

सागर राज तिमिल्सिना
पोखरा, २४ साउन/ फेवातालको बिचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण थालिएपनि ढिलाइ भएको छ । मन्दिरमा दर्शन र भ्रमण गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् । पर्यटकीय राजधानी पोखरा आउने जो कोही पर्यटक तालबाराही देवीको अवलोकन र देवीको दर्शन गर्न पुग्ने गर्दछन् ।

माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालको बीचस्थित सानो टापुमाथि प्यागोडा शैलीको मन्दिरले पर्यटकलाई तान्ने गदथ्यो । तर पुनः निर्माणका लागि भन्दै मन्दिर भत्काएको २ वर्ष पुग्नै लाग्दा पनि कामले गति पाएको छैन ।

पर्यटकीय राजधानी पोखराको फेवातालको मध्य भागमा रहेको तालबाराही मन्दिरको पुनःनिर्माणमा ढिलाई भएको छ । ढिला हुदाँ पोखरा आउने भारती र नेपाली पर्यटकहरुले पुजा गर्न र विदेशी पर्यटकले दृश्य अवलोकन गर्न पाएका छ्रैनन् भने ढुङ्गा व्यवसायीले काम पाएका छैनन् ।

२०७२ सालको भूकम्पका कारण भूइँतलासहित तीन तले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि ताल बाराहीमन्दिर गुठी व्यवस्थापन समिति पुनःनिर्माणका लागि मन्दिर भत्काएको थियो । २०७९ को कात्तिक महिनामा मन्दिर भत्काएपनि निकै सुस्त रुपमा भएको छ । अहिले सम्म केही काठमा पुरानै शैली अनुसार कुद्ने र जग लगाउने ठाउँमा ढलान मात्रै भएको छ । काम ढिलो हुदाँ पुजा गर्न आउनेहरु मुलमन्दिरमा पुजा नगरि प्रतिमामा पुजा गरेर फर्किने गरेको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले बताउ छन् ।

मन्दिर निर्माणको लागि एक करोड ४५ लाख रुपैयाँ खर्च लाग्ने समितिको अनुमान छ । पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरको निमार्ण हुनेछ । मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट २५ लाख रुपैयाँ सहयोग प्राप्त हुनुको साथै प्रदेश, स्थानीय, संघ सरकार र भक्तजनको सहयोगमा गरी रहेका छन् । पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी छ ।

मन्दिर पुनःनिर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी अगाडी बढेको थियो । मूल मन्दिर एक वर्षभित्र नै निर्माण सम्पन्न गर्ने योजनाका साथ शुरु भएपनि २ वर्ष पुग्नै लाग्दा पनि बन्ने मेसोमेलो छैन । विभिन्न कामले गर्दा ढिलाई भएको तालबाराही मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पशुराम शर्मा पहारीले बताए । अहिले भत्काइएको मन्दिर २०१७ सालमा बनाइएको थियो । पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माणको काम भएको छ । यती बेला भक्तपुरबाट आएका कालिगढले काठमा कला भरिरहेका छन् ।

फेवातालको बीचमा रहेको तालबाराही मन्दिर पुग्नका लागि ढुङ्गा चढेर पुग्नु पर्दछ । पोखरा पुगेका पर्यटक यो मन्दिरमा अधिकांश पुग्ने गरेका छन् । यो मन्दिर नेपालकै प्रमुख तीर्थस्थल मध्ये १ हो । यो विक्रम सम्बद १६६८ मा कास्कीका राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर मन्दिर स्थापना गरेको किंवदन्ती छ । त्यस पछि विक्रम संम्बद २०१७ सालमा राजा महेन्द्र विरविक्रम शाहले पोखरा भम्रणका बेला झुप्रोको मन्दिर देखेपछि निर्माण गर्न लगाएका थिए । मन्दिर पूर्ननिर्माण पहिलेकै शैलीमा गरिने छ ।

तालबाराही मन्दिर ३ रोपनी ८ आना क्षेत्रफलमा फैलिएको छ । तालमा देखिने माछापुच्छ्रे हिमालको छाया र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङ्कोट, विश्व शान्ति स्तूपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेको छ । विदेशी पर्यटकको समेतलाई लोभ्याउने तालबाराही मन्दिरको पूर्ननिर्माण बेलैमा हुन जरुरी छ ।