पोखराको लेकसाइडमा पसलमा आगोलागि, करोडको क्षती तस्बिरः आशिष पुरी
पोखरा, २० साउन/ पोखरा ६ नारेश्वरमा केही दिन अगाडी एक पसलमा लागेको आगो पसल आफैले लगाएको खुलेको छ । वीमा कम्पनीबाट रकम असुल्न गर्न सुजन गहतराजले साउन १६ गते अर्को एक जनाको सहायताले पसलमा आगो लगाएका थिए ।
उनलाई साथी पवन नेपालको सहयोग गरेका थिए । पोखराको नारेश्वरस्थित मुक्तिनाथ सपिङ सेन्टर प्रालिमा आगो लगाएका थिए ।
पवित्रा अधिकारीको नाममा रहेको पसल डा. थानेश्वर पहारीको घरमा सञ्चालित थियो । आगलागीको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय वैदामका प्रमुख सन्तोष निरौलाको कमाण्डको प्रहरी कर्मचारीहरु, पोखरा महानगरपालिकाको दमकल, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी र स्थानीयको प्रयासमा बिहान ३ बजेतिर आगलागी नियन्त्रणमा आएको थियो ।
आगो लगाउने सुजन र उनलाई सघाउने पवनलाई प्रहरीले पक्राउ गरी आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सुजनले प्रहरीसँगको प्रारम्भिक बयानमा आफूले नयाँ इन्भटर जडान गरेको र सोही इन्नभटरको वाइरिङवाट सर्ट भई आगो लागेको बताएको कास्कीका प्रहरी प्रमुख मोहन थापाले बताए ।
उनले मैले पसलको वीमा नगराएको बयान समेत दिएका थिए । प्रहरीले सुरुदेखि नै सुजन र आगलागी घटनालाई शंकालु पारेर हेरिरहेको थियो । त्यसै क्रममा प्रहरीले इन्भर्टर सप्लाई गर्ने व्यक्तिसँग बुझ्यो । इनभटरबाट आगो नलाग्ने बरु जोड्ने क्रममा बिग्रन सक्ने जवाफ प्रहरीले पायो । विद्युत प्राधिकरणसँग बुझ्दा पनि बिजुलीमा कुनै कैफियत नरहेको जवाफ आएको थापाले बताए ।
त्यसपछि प्रहरीले अलि मिहीनरुपमा अनुसन्धान थाल्यो । सुजनले पसलको वीमा हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड पोखरा शाखाबाट गरेको थाहा भयो । अनि सुजनले आगलागीकै भोलिपल्ट अर्थात् साउन १६ गते बिमा दाबीको लागि निवेदन समेत पेस गर्छन् ।
उता सुजनले १७ गते नै वडा प्रहरी कार्यालय वैदाममा आगलागीको घटनाबारे अनुसन्धान गर्न भनी निवेदन दिन्छन् । उनले २ करोड १० लाख बराबरको इन्स्योरेन्स गरेका थिए । योजना बुनेरै उनले बिमा गराएको र त्यही अनुसार आगजनी गरेको भन्ने प्रहरीको आशंका सत्य सावित भयो ।
घटना हुने दिने राति सुजनले घरबाट गाडीमा स्प्रिटको ग्यालेन राखेको हुन्छन् । रातको अन्दाजी ११ बजे सुजनले साथी पवन नेपाललाई बोलाउँछन । उनीहरुको भेट ड्यामसाइडको फेवा झिर रेस्टुरेन्टमा हुन्छ । त्यहाँ उनीहरुले ५ वटा बियर पिउँछन ।
योजना मुताविक सुजन र पवनले पानी परेको दिन सबै सुत्छन् मानिसको चहलपहल हुँदैन त्यही बेला पसलमा आगो लगाउने सरसल्लाह हुन्छ ।
पसल सञ्चालकको पसल खासै धेरै नचलेको र सामान ठूलो मात्रामा स्टक भएको र घरधनी समेतसँग भाडा लगायतका कुरामा विवाद रहेको प्रहरीले बताएको छ । शंका लागेर सुजनलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले सबै काम योजना अनुसार नै गरेको स्वीकार गरेका छन् ।
पवन नेपालले सञ्चालन गरेको पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट सञ्चालित सफल पोल्ट्रि फार्ममा आगो लागेकोले उक्त आगोलागीबाट पवनले इन्स्योरेन्सबाट ३१ लाख रुपैया लिएका थिए । त्यसैबाट प्रभावित भएर आफूले योजना बनाएको सुजनले स्वीकारेका छन् ।
सुजनले चलाउने गरेको ग३च ६२६६ नम्बरको गाडीमा पवनसमेत पसलमा पुुगेका थिए । उनीहरु दुवैजना १०÷१५ मिनेट भित्र बसी बाहिर निस्की सुजनले सटर लगाइ हतारहतार गाडी लिएरु तालबाराही स्कुल गएका थिए । त्यतिबेला पवन पसलकै बाहिर बसेका थिए । एकछिनपछि पवनले सलाई कोरेर फाली गाडीकै पछि लागेका थिए ।
प्रहरीले उनीहरुलाई आपराधिक उपद्रव गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतवाट ७ दिन म्याद थप भई अनुसन्धान गरिरहेको छ ।